एमसीसी परिमार्जन नभएसम्म पारित हुँदैन: प्रचण्ड
धनुषा-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताउनु भएको छ । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले पनि संशोधन बिना पारित नहुने बताउनु भएको हो ।
शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यसअघि शेरबहादुर देउवा नेतृत्वकै सरकार रहेको बेलामा एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित गर्नु पर्छ भन्ने कुनै प्रावधान नभएको दावी गर्नु भयो । उहाँले भन्नु भयो ‘ तर पछि केपी ओली नेतृत्वको सरकारमा प्रतिनिधिसभाबाट पारित गर्नु पर्ने विषय आएपछि मात्रै एमसीसीको विवाद श्रृजना भएको थियो ।’ उहाँले अगाडी भन्नु भयो ‘ अमेरिकी संसदमा यो एमसीसी इण्डो प्यासिफिक स्ट्रेटजीको अंग हो भन्ने विषय चर्चामा आएपछि विवाद झन चर्कियो ।’
यी गलत विषयहरुलाई संशोधन र परिमार्जन नभएसम्म एमसीसी पारित नहुने उहाँले दोहर्याए । पैसा र विकास देशलाई चाहिएकाले एमसीसी सम्झौता परिमार्जनपछि प्रतिनिधिसभाबाट पारित गराउन आफूहरु तयार रहेको उहाँले स्पष्ट पार्नु भयो ।
उहाँले असोज ४ सम्ममा सरकारले पूर्णता पाउने पनि बताउनु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्राविधिक कारणले सरकारलाई पूर्णता दिन ढिलाई भईरहेको स्वीकार गर्दै अब भने मन्त्रिमण्डल विस्तारमा ढिलाइ नहुने बताउनु भएको शो ।
उहाँले सरकारले पूर्णता पाउन नसकेको विषयलाई बहाना बनाएर गठबन्धन दलका सम्बन्धमा भ्रम सिर्जना काम भइरहेको पनि बताउनु भयो ।प्रचण्डले भन्नु भयो ‘ प्रतिगामी शक्तिले रोक्न खोज्दा खोज्दै पनि बनेको गठबन्धन संविधानको रक्षा, राष्ट्रको रक्षाका लागि बनेकाले ढुक्क भएर बस्नुस गठबन्धनमा कुनै किसिमको विवाद छैन यो गठबन्धन टुट्दैन ।’