अब कुकुर पाल्न अनुमति लिनुपर्ने,प्रतिकुकुर एक सय रुपैयाँ शुल्क
पोखरा — सेतो र कालो छिर्केमिर्के कुकुर डोर्याएर अनु सिग्देल दम्पती शुक्रबार पोखरा–८ को सिर्जनाचोकमा रहेको वडा कार्यालय पुग्नु भयो । एक वर्षअघि अनलाइनबाट १६ हजार रुपैयाँमा मगाइएको डाल्माटिएन प्रजातिको कुकुर दर्ता गर्न उहाँहरू वडा कार्यालय पुग्नु भयो ।
महानगरपालिकाले नेपालमै पहिलोपल्ट कुकुरको दर्ता अनिवार्य गरेको हो । महानगरको छैटौं नगरसभाले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०७६ पारित गरेको थियो । उक्त ऐनमा कुकुरपालकले अनिवार्य दर्ता गरेर अनुमतिपत्र लिनुपर्ने व्यवस्था थियो । ऐन पारित भएको दुई वर्षपछि कार्यान्वयनमा आएको हो । ‘कुकुरको तथ्यांक राख्नु उपयुक्त हो,’ पोखरा–८ शान्तिमार्गकी सिग्देलले भन्नु भयो ‘दर्ताको निहुँमा राजस्व मात्रै उठाउने हो भने राम्रो होइन ।’
महानगरपालिकाले बिहीबारबाट आफ्ना १० पशु सेवा केन्द्रमा दर्ता प्रक्रिया सुरु गरेको छ । सेवा केन्द्र नभएको वडा नम्बर ८ मा भने बिहीबार र शुक्रबार क्याम्प राखिएको थियो । कुकुरपालकले एक सय रुपैयाँ बुझाएपछि कुकुर दर्ता तथा पाल्ने अनुमतिपत्र पाउँछन् ।
महानगरले पशुधनीको नाम, ठेगाना, घर नम्बर, फोन नम्बर, कुकुरको जाति, जातरनश्ल, उमेर, बोलाउने नाम, रङ र लिंगको रेकर्ड राख्छ । अनुमतिपत्रसँगै बेल्टमा ट्याग झुन्ड्याइन्छ । ऐनबमोजिम दर्ता भएका कुकुरलाई छाडा छोड्न नपाइने, घरबाहिर दिसापिसाब गराउन नहुने प्रावधान छ । ऐनविपरीत कार्य गरे कुकुरपालकलाई ५ देखि १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरिएको छ । छाडा छोडिएका कुकुर कसको हो भन्ने ट्यागबाट पत्ता लगाउने र जरिवाना गरिने वडा ८ का अध्यक्ष रुद्रनाथ बरालले बताउनु भयो ।
‘कुकुर पालेर बूढो भएपछि सडकमा छोडिदिने समस्या छ । अर्को भनेको कुकुर डोर्याउँदै ल्याएर सार्वजनिक स्थलमा दिसापिसाब गराउँछन्,’ उहाँले भन्नु भयो , ‘दर्ता प्रक्रियापछि अब यो समस्या आउँदैन ।’