मन्त्रिपरिषद्ले पायो पूर्णता ,प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त
काठमाडौँ- नयाँ सरकार बनेको झन्डै तीन महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।
मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहनुभएका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बन्नुभएको छ ।
त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा जिम्मेवारी दिइएको छ । मन्त्रालय भागवण्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाउनुभएको हो ।