प्रचण्ड र माधवलाई चुनाव जितेर देखाउन ओलीको चुनौती
काठमाडौं-एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका कारण चुनाव जितेको दावी गर्न भएको छ । आइतबार झापामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले माओवादी र माधव नेपालको पार्टीले अरुले उमारेको जुँगामा ताउ लाइरहेको पनि बताउनु भयो ।
उहाँले प्रचण्ड र माधव नेपाललाई अव चुनाव जितेर देखाउन चुनौती समेत दिनु भयो । ‘प्रचण्डले अब जितेर देखाउन् त, माधव नेपालले जितेर देखाउन् त ’ओलीको भनाइ छ । उनले एमालेबाट गएका अरु नेता कार्यकर्ता फर्किए स्थान दिने भन्दै माधव नेपाललाई अव एमालेले कुनै स्थान दिन नसकिने बताउनु भयो । ‘माधव नेपाललाई अब एमालेले कुनै स्थान दिँदैन, उहाँ कम्युनिस्ट आन्दोलन विरोधी हुन्, गद्दार हुन्’, ओलीको आरोप छ ।
अध्यक्ष ओलीले सरकार र सत्तारुढ दलहरुलाई खराव काम गर्नेहरुको संज्ञा दिँदै बुझीबुझी एमालेको इर्श्याका कारण देशलाई नै समाप्त पार्ने प्रयासमा लागेको बताउनु भयो । ‘प्रतिकृयावादीसँग साँठगाँठ गरिरहेका छन्, वामपन्थी सरकार ढाल्ने र दक्षिणपन्थी सरकार बनाउने गरेका छन्’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको सरकारले केही गर्न नसक्ने दावी गर्नु भयो । ‘तीन महिनामा २५ जना मन्त्री भए एउटा मन्त्री तीन दिनमै फुस्किए । प्रधानमन्त्री वातावरणसम्बन्धी वेलायत जाँदै हुनुहुन्छ तर राजदूत फिर्ता बोलाएका छन्,अरु कारण छैन ।
उहाँले नेकपा एमालेले जनता र राष्ट्रको हितमा काम गर्ने भन्दै स्वार्थका लागि अवाञ्छित सम्झौता नगर्ने दावी समेत गर्नु भो । उहाँले एमाले नेतृत्वको सरकारले गरेका कामले राष्ट्रको शीर माथि उठाएको समेत बताउनु भयो । उहाँले नेपाल अव गरिव देश रहिरहन नसक्ने भन्दै धनी बनाएरै छाड्ने उदेश्य अनुसार आफ्नो पार्टीको नेतृत्वको सरकारले देश बनाउन सम्मृद्ध नेपाल र सुखी नेपालीको आकांक्षालाई अघि सारेकाले त्यसलाई सफल पार्नुको विकल्प नभएको बताउनु भयो ।
संविधान सभा अध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङले जनताको मतबाट प्रधानमन्त्री भएका केपी शर्मा ओली सर्वोच्च अदालतको परामदेशबाट हटाइएको बताउनु भयो । उहाँले परमादेशबाट कम्युनिस्ट नेतृत्वको सरकार हटाएर शेरबहादुर देउवा नेतृत्वको सरकार बनेसँगै नेकपा एमाले र केपी शर्मा ओलीप्रति जनताको माया र आकर्षण बढेको दावी समेत गनु भो । उहाँले परमादेशबाट बनेको सरकारले ८८ दिनसम्म सरकार नै विस्तार गर्न नसकेको भन्दै त्यही पनि एक जना मन्त्रीले सपथ लिएको भोलिपल्ट नै राजीनामा गर्नुपरेबाटै सरकारको हैसियत देखिएको बताउनु भयो ।
नेम्वाङले एमालेलाई कमजोर बनाउन लाग्नेहरूमा झापामा भएको पार्टी प्रवेश कार्यक्रमले भुइँचालो ल्याएको बताउनु भयो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य लेखराज भट्टले जनताका समस्या सम्बोधन गर्न लाग्नुपर्ने सत्तासीन दलका नेताहरु जिपलाइनमा रमाइरहेको बताउनु भयो ।