पुष्प उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनु पर्छ : अर्थमन्त्री
काठमाडौं –अर्थमन्त्री जनार्दन शर्माले पुष्प उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनु पर्ने बताउनु भयो । शुक्रबार ललितपुरमा १४ औं गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै उहाँले देशको अर्थतन्त्र माथि उकास्न पुष्प व्यवसायको महत्वपूर्ण भूमिका रहेको धारणा राख्नु भयो ।
‘देशको अर्थतन्त्रमा टेवा पुर्याउने, व्यापार घाटामा योगदान गर्ने र देशलाई आत्मनिर्भर बनाउने अर्थमा पुष्प खेतीको अत्यन्त महत्व छ’, शर्माले भने, ‘यसलाई बढी आम्दानी हुन सक्ने नगदे बाली वा खेतीको रूपमा लिनुपर्छ, लिइरहेका छौँ ।’
फूलमा मुलुक आत्मनिर्भर उन्मुख भएको बताउँदै मन्त्री शर्माले अर्को वर्षदेखि आयात गर्नुनपर्ने गरी संकल्प गरेर अगाडि बढ्न पुष्प व्यवसायीलाई आग्रह गरे । केही प्रतिशत अन्य मुलुकबाट बर्षेनी फूल भित्रिरहेकाले आगामी वर्षदेखि आत्मनिर्भर हुने गरी पुष्प कृषक, व्यवसायी तथा सरोकारवालालाई संकल्प गर्न शर्माको आग्रह थियो । मन्त्री शर्माले फूल नेपालीको संस्कृतिसँग पनि जोडिएकाले निकै महत्वपूर्ण रहेको धारणा राख्नु भयो । फ्लोरिकल्चर एशोसिएसनले बर्षेनी प्रदर्शन आयोजना गर्दै आएको गोदावरी पुष्प प्रदर्शनी यस वर्ष शुक्रबारबाट सोमबारसम्म चल्नेछ ।
प्रदर्शनीमा गोदावरी पुष्पसँगै विश्वभर चलेका फुलहरू, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत राखिएको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङले बताउनु भयो ।
अध्यक्ष तामाङले प्रदर्शनीको अवलोकन ३५ हजार बराबरले गर्ने अनुमान गरिएको जानकारी दिए । त्यस्तै ५० लाखभन्दा बढीको व्यापार हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।