धनकुटा- सहिदभूमि गाउँपालिकाले सहिद दिवस र पापानीको अवसरमा सार्वजनिक बिदा दिएको छ। सहिद दिवसको अवसरमा सोमबार र पापानीको अवसरमा मंसिर १२ मा बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँ कार्यपालिकाको शुक्रबार गरेको निर्णय अनुसार छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त सहिदहरुको सम्मान र सम्झनामा मनाइने ४३औं सहिद दिवसको अवसरमा र किरात जातिको मुख्य पर्व पापानीको अवसरमा मंसिर १२ मा सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले आइतबार सूचना जारी गर्दै सहिद दिवस र पापानीमा सार्वजनिक विदा दिएको जनाएको छन्। गाउँपालिकाले हरेक वर्ष सहिद दिवस र पापानीमा सार्वजनिक विदा दिँदै आएको छ।
२०३६ साल कात्तिक अन्तिम साता छिन्ताङमा तत्कालीन सरकारले कम्युनिष्ट कार्यकर्ता रहेको भन्दै मच्चाएको हत्याकाण्डमा १६ जनाको हत्या भएको थियो। सरकारले ती १६ जनालाई हत्या भएको ३८ वर्षपछि २०७४ पुस २८ मा राष्ट्रिय सहिद घोषणा गरेको थियो। छिन्ताङमा हरेक वर्ष कात्तिक २९ गते सहिद दिवस मनाउँदै आइएको छ।