नेतृत्व चयनमा धाँधली भयो : नरबहादुर बिक
काठमाडौं – नेकपा एमालेका नेता नरबहादुर बिकले नेतृत्व चयनमा धाँधली भएको बताउनुभएको छ ।प्यान नबनाउने, हात जोडेर भोट माग्ने पार्टीको निर्णय उल्लंघन भएको भन्दै उनले चुनाव निश्पक्ष नभएको बताउनु भयो । ‘जब पार्टीले निर्णय गरेको छ, हामी प्यानल बनाउँदैनौं, इन्डिभिजुअलरुपमा उम्मेदवार घोषणा गरेर कार्यकर्तालाई चुन्ने अधिकार स्वतन्त्र राख्ने । त्यसैले यो त सरासर धाँधली हो,’ उहाँले भन्नु भयो ।
अध्यक्षका उम्मेदवार भीम रावल पक्षका नेता नरबहादुरले केपी ओली पक्षले खुलमखुल्ला प्यानल बनाएर भीम रावल र उनका मान्छेलाई भोट नदिनू भनेर मतदाताको स्वतन्त्र निर्णय गर्ने अधिकारमै बन्देज गरी राजनीतिक अपराधीकरण गरेको आरोपसमेत लगाउनु भयो ।
उहाँले भन्नु भयो ‘अहिले खासगरी कमरेड केपी ओलीको पक्षधरले कमरेड भीम रावललाई भोट नदिनू र भीम रावलसँग जोडिएकाहरूलाई भोट नदिनू भनेर पर्चामा समेत कट गरेर बाँडेको पाइँदाखेरि यो सरासर पार्टीको निर्णयविरुद्ध हो, पार्टीका नेता कार्यकर्ताको भावनाविरुद्ध हो, जनमतको विरुद्ध हो, यो एउटा राजनीतिक अपराधीकरण हो भन्ने मैले बुझेको छु ।’