एमालेले ३ महिना पार्टी प्रवेश अभियान सञ्चालन गर्ने
चितवन – एमाले अध्यक्ष केपी शर्मा ओलीले ३ महिना पार्टी एकीकरण अभियान सञ्चालन गर्ने घोषणा गर्नु भयो । १०औं महाधिवेशन समापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले विभिन्न पार्टीका कार्यकर्तालाई पार्टीमा प्रवेश गराउन अभियान नै सञ्चालन गर्ने बताउनु भयो ।
‘अबको तीन महिना पार्टी प्रवेश अभियान सुरु हुन्छ,’ ओलीले भन्नु भयो । पार्टीले नेता नभई कार्यकर्ता भित्र्याउनुपर्नेमा ओलीको जोड थियो। ‘पार्टी पार्टी भेला गरेर हुँदैन,’ ओलीले भन्नु ‘कार्यकर्ता भेला गर्नुपर्छ। यो अभियानबाट पार्टीलाई माथि उठाइन्छ।’ यो अभियान भने आगामी केन्द्रीय कमिटी बैठकले तय गर्ने ओलीले बताउनु भयो ।
पार्टीको १०औं महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै ओलीले १०औं महाधिवेशनका क्रममा पार्टीका नेतालाई उक्साउन विरोधीले गरेको षड्यन्त्र सफल नभएको दाबी गर्नु भयो ।
पार्टीमाथि आन्तरिक र बाह्य दुवै षड्यन्त्र भइरहेको ओलीले बताए। ‘विरोधीहरूले भडकाइरहेका र उक्साइरहेका थिए,’ ओलीले भन्ुभयो, ‘तर शान्त र एकताबद्ध भएर हामीले विरोधीलाई सफल हुन दिएनौं।’ पार्टीका नेतारकार्यकर्ता हल्का भएर गैरजिम्मेवार भएर नचल्ने ओलीले बताउनु भयो । उहाँले केन्द्रीय कमिटीको बैठकको मिति पनि घोषणा गर्नु भयो । उहाँले मंसिर २५ गते बैठक बस्ने जानकारी दिउनु भयो ।
यस्तै, नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई नेताको व्यवहार देखाउन निर्देशन दिनु भयो। ‘घमण्ड र अहंकार छोडनुहोस्,’ ओलीको निर्देशन थियो, ‘अहंकारी नेता हुँदैन र नेता अहंकारी हुँदैन।’ पुराना केन्द्रीय सदस्यहरूले नयाँ केन्द्रीय सदस्यलाई काम र व्यवहार गर्ने तौरतरिका सिकाउनुपर्ने ओलीले बताउनु भयो । त्यसअघि नवनिर्वाचित ओलीले पद तथा गोपनियताको शपथ खानु भएको थियो । उहाँलाई निर्वाचन आयोगका संयोजक विजय सुब्बाले शपथ गराउनु भएको थियो । त्यसपछि ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यलाई शपथ गराउनु भयो । अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित भीम रावलले भने शपथ खानु भएन । उहाँले केन्द्रीय सदस्य पद अस्वीकार गर्नु भयो ।