Connect with us
Kapilvast Forest

साग बेच्‍नेलाई कर, हेलिकोप्टर व्यवसायीलाई छुट

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

 

ताप्लेजुङ — प्रत्येक साताको शनिबार फुङलिङ नगरपालिका–७ दोखुकी पुष्पा लिम्बू साग बेच्न तोक्मे डाँडामा लाग्ने हाट पुग्छिन् । अढाइ घण्टाको उकालो पसिना काढ्दै सागको भारी लिएर पुग्दा नपुग्दै उनलाई नगरपालिकाले १० रुपैयाँको कर रसिद थमाउँछ । शनिबार र मंगलबार लाग्ने हाटमा टहरा राख्नेले ५० रुपैयाँसम्म कर बुझाउनुपर्छ ।

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको तीर्थस्थल पाथीभरामा हेलिकोप्टर । तस्बिर : आनन्द गौतम/कान्तिपुर

साग, आलु, चामल, दाललगायतका गाउँले उत्पादन नै हाटमा खरिद बिक्री हुने गर्छ । फुटपाथ, टहरामा बसेर गाउँकै उत्पादन बिक्री गर्दा नगरपालिकाले कर लगाइरहँदा सुनसरीको धरान, धनकुटाको भेडेटार, इलामको फिक्कल, पाँचथरको फिदिमलगायत आसपासका क्षेत्रबाट ताप्लेजुङ आउजाउ गर्ने हेलिकोप्टर भने वर्षौंदेखि निर्बाध उडिरहेका छन् । जबकि छोटो हवाई दूरीमै पनि यात्रुले लाखौं रुपैयाँ तिरिरहेका छन् ।

नगरपालिकाले यसलाई भने करको दायरामा ल्याइएको छैन । व्यावसायिक रूपमा उडिरहेका अधिकांश हेलिकोप्टरले पाथीभरामा उडान भरिरहेका छन् । पाथीभरा क्षेत्र विकास समितिले पनि कुनै शुल्क तोकेको देखिँदैन । ताप्लेजुङ सदरमुकाम फुङलिङको हेलिप्याड र सुकेटारबाट पाथीभरा मन्दिर तीर्थयात्री पुर्‍याउँदा प्रतिव्यक्ति कम्तीमा १० हजार रुपैयाँ लिन्छन् । सामान्यत: एक पटकमा ५ जना यात्रु उडाइन्छ । धरानबाट प्रतिव्यक्ति ३२ हजार रुपैयाँमा यात्रु उडाउने गरेको धरान होलिडे ट्राभल एन्ड टुरका मार्केटिङ म्यानेजर पविन श्रेष्ठ बताउँछन् । एउटै उडानमा १ लाख ६० हजार रुपैयाँसम्म आम्दानी हुन्छ । पाँचथरको फिदिमबाट २२ हजार र इलामको कन्यामवाट जनही ३५ हजार रुपैयाँ भाडा लिइन्छ ।

पाथीभराको हेलिप्याडमा हिउँ जम्दा वा भीडभाड हुँदा त्यहाँका कर्मचारीले सहयोग गर्छन् । तर हेलिकोप्टर सञ्चालकले भने पाथीभरा क्षेत्र विकास समितिसँग समन्वय पनि गरेका छैनन् । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले हेलिकोप्टर सञ्चालकसँग उडान तथ्यांक माग्दासमेत यकिन नदिएको बताउँछन् । ‘हेलिकोप्टर कम्पनीलाई सोध्दा ट्राभल एजेन्सीलाई भाडामा दिएको भन्छन्, एजेन्सीले यकिन तथ्यांक दिएको छैन,’ काफ्लेले भने, ‘अब मान्छे खटाएर तथ्यांक राख्नुपर्ने भएको छ ।’ पाथीभरामा पाथीभरा देवी मन्दिरक्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले दुईवटासम्म बस्न मिल्ने गरी हेलिप्याड बनाइदिएको छ । एकै पटक तीन/चार वटासम्म आउँदा मन्दिर छेउको मैदानमा पनि बस्ने गरेका छन् । ‘महिनौं लगाएर दु:ख गरी हेलिप्याड बनाएका हौं,’ संरक्षण समितिका सचिव लक्ष्मी काफ्लेले भने, ‘पहिला सिम्रिक एयरले व्यावसायिक उडान गर्‍यो, केही शुल्क दिनुपर्‍यो भन्दा घाटा भयो भनेर आलटाल गर्‍यो ।’

 

मैदानको आफूहरुले नै संरक्षण गर्दै आएको पाथीभराका कर्मचारी राजेन्द्र महत बताउँछन् । हेलिकोप्टरमा आएका तीर्थयात्रीले पूजा गर्न पनि प्राथमिकता पाउने गरेका छन् । जबकि ५ किलोमिटर उकालो हिँडेर पुग्ने तीर्थयात्रीले त्यसपछि मात्रै पालो पाउँछन् । हेलिकोप्टरमा अशक्त, वृद्धवृद्धा आउने भएकाले अहिलेसम्म कुनै शुल्क नलिएको बताउने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक काफ्ले अब भने शुल्क लगाउने तयारीमा रहेको बताउँछन् । सुकेटार विमानस्थलमा पनि समन्वय गरिरहेको र दोहोरो नपर्ने गरी शुल्क लगाउने उनले बताए । ‘पहिला हेलिकोप्टर पनि कम आउँथे, हिँड्न नसक्नेहरु मात्रै आउँथे, अहिले व्यवसाय नै बनाएकाले शुल्क लगाउँछौं,’ काफ्लेले भने ।

स्रोत व्यवस्थापन समितिका संयोजक एबं फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ व्यावसायिक रूपमा चलाउलान् भन्ने नभएर नगरपालिकाले राजस्वमा हेलिकोप्टर नसमेटिएको बताउँछन् । ‘पहिले विरामीका लागि आकस्मिक उडान मात्रै हुन्थ्यो,’ भट्टराईले भने, ‘अब करको सूचीमा थप्छौं र हेलिकोप्टर सञ्चालकलाई यसको दायरामा ल्याउँछौं ।’ तरकारी उत्पादन गर्ने कल्पना लिम्बू पसिना चुहाउने किसानलाई कर लगाउने हेलिकोप्टर चलाएर व्यवसाय चलाउनेलाई छुट दिनु सह्य नहुने बताउँछिन् । ‘हातमुख जोड्न घरेलु अन्नपात बेच्नेले भने कर तिर्नुपरिरहेको छ,’ लिम्बूले भनिन्, ‘ठूलालाई चैन, सानालाई ऐन हुनु हुँदैन ।’ पाथीभरामा सिम्रिक, माउन्टेन एयरले नियमित रूपमा र अन्यले चार्टरमा यात्रु लिएर आउने गरेका छन् ।कान्तिपुर 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu