Connect with us
Kapilvast Forest

थुक्क यो पनि उस्तै चोर रहेछ भन्ने काम गर्नै छैन : अध्यक्ष लिङ्देन

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

काठमाडौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई अरूको भन्दा फरक ढङ्गले नेतृत्व दिने बताउनुभएकाे छ ।

आज आइतवार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष लिङ्देनले आफ्नो कार्यकालमा पार्टीलाई फरक तरिकाबाट नेतृत्व गर्ने दाबी गर्नुभएको हो । उहाँले पार्टीलाई सही दिशा दिन र नेता, कार्यकर्ताको शिर झुक्न नदिने बताउँदै अरू नेतृत्वजस्तै रहेछ भन्ने मौका नदिने बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टीको महाधिवेशन आन्तरिक चुनाव भएकाले विजय जुलुस निकाल्न, माला र खादा लगाइदिन, मुर्दावाद र जिन्दावादको नारा लगाउन आवश्यक नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले गाउँ घरतिर भोट माग्दा भन्थेँ, थुक्क यो राजेन्द्र मोरा पनि उस्तै चोर रहेछ भन्ने काम म गर्न दिने छैन, भन्ने मौका दिने छैन भनेको थिएँ । आज राप्रपाका देशभरका महाधिवेशन प्रतिनिधि साथीहरूलाई भन्न चाहन्छु– यो पनि उस्तै रहेछ भन्ने मौका म दिन्नँ । तपाईँहरूको शिर झुक्ने काम गर्दिनँ । यो आन्तरिक चुनाव हो, कुनै पनि प्रकारको विजय जुलुस निकाल्नु पर्दैन । कुनै जिन्दावाद, मुर्दावादको नारा लगाउनु पर्दैन । सकियो आजबाट । कसैले फूलमाला लिएर पनि आउनु पर्दैन । राजेन्द्रलाई खादा लिएर गएन भने, माला लाइदिएन भने मलाई नराम्रो ठान्छ कि भन्ने केही गर्नुपर्दैन ।’

नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टीलाई विगतको जस्तो गतिहीन र निष्क्रिय बनाउने छुट आफूलाई नरहेको भन्दै पार्टीलाई मात्र नभइ पार्टीका मुद्दालाई जोड दिने बताउनुभयो । उहाँले बाध्यकारी कदमको रूपमा नेतृत्व परिवर्तन गर्नुपरेको भन्दै अब राप्रपामा गुटहरू नहुनेसमेत दाबी गर्नुभयो । नवनिर्वाचित अध्यक्ष लिङदेनले अब पार्टीका नेता/कार्यकर्ताले कोही एक व्यक्तिको नामबाट नभइ राप्रपाको कार्यकर्ता भएर भोट माग्न जान पाउने बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हिजोको दिनको जस्तै गतिहीन र निस्क्रिय बनाएर लैजाने छुट हामीलाई छैन । त्यस कारण राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मात्र होइन, त्योभन्दा बढी यसको मुद्दालाई समाप्त हुन नदिनका लागि हामीले बाध्यकारी कदमको रूपमा नेतृत्व परिवर्तनलाई लिएका हौँ । आज हामी अनेक समस्याका बाबजुद यो काममा सफल भएका छौँ । हामीलाई जित्नैपर्ने बाध्यता थियो । हामीले हिजो गरेका प्रतिस्पर्धाबाट मानिसहरूले पार्टी चिरा पर्ने हो कि, गुट बन्ने हो कि भन्ने आशङ्का गरेका थिए । हिजोसम्म जे भयो भयाे, आजबाट हामी सबै एक छौँ । कोही कुनै पक्षका छैनन् । नेतृत्व परिवर्तनका अनेक आयाम र उपलब्धि छन् । त्यसमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताका लागि सबैभन्दा ठूलो उपलब्धि भनेको अघिल्ला महाधिवेशनमा एउटा नेताको कार्यकर्ता भएर भोट माग्न जान्थ्यौँ । आजबाट हामी राष्ट्रिय प्रजातन्त्र पार्टीको मान्छे भएर जान्छौँ । आजबाट कुनै गुट छैन राष्ट्रिय प्रजातन्त्र पार्टीमा । कोही कसैको मान्छे छैन, सबै राप्रपाको मान्छे भएका छन् ।’

नवनिर्वाचित अध्यक्ष लिङ्देनले नेपालको राजनीतिमा स्थापित नेतृत्वसँग प्रतिस्पर्धा गरेर राप्रपाको नेतृत्व परिवर्तन गर्नु सानो कुरा नभएको बताउनुभयो । उहाँले नेतृत्व परिवर्तन नगरि देश विकास हुँदैन भन्ने कुरामा मात्रै सीमित रहेका देशका ठूला राजनीतिक पार्टी नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) का पुस्तान्तरणका कुरा गर्नेहरूलाई अब राप्रपाले नेतृत्व गर्ने बताउनुभयो ।

आज आइतवार बिहान सम्पन्न मत परिणाममा पार्टीका निवर्तमान अध्यक्ष कमल थापालाई दुई सय २७ मतान्तरले पराजित गर्दै लिङ्देन पार्टीको अध्यक्ष बन्नुभएको हो । निवर्तमान अध्यक्ष थापाले एक हजार ६ सय १७ र लिङ्देनले एक हजार आठ सय ४४ मत प्राप्त गर्नुभएको हाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu