संसद विघटन गर्नु ओलीको गल्ती होइन :महासचिव पोखरेल
काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले राजनीतिक मुद्दालाई जनताको विषयवस्तु बनाउन चाहेकाले संसद विघटन गरेको बताउनु भएको छ । सोमबार काठमाडौमा अनेरास्ववियुको संगठन विस्तार तथा सदस्यता वितरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सत्ता गठबन्धनले राजनीतिक मुद्दालाई अदालतको विषय बनाइरहेको आरोप पनि लगाउनु भयो ।
पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले संसद विघटन गरेर नयाँ जनादेशमा जाने फैसला उचित भएको दावी गर्दै उहाँले नयाँ जनादेशमा जाने फैसला लोकतन्त्रका विरुद्धमा हुनै नसक्ने जिकिर गर्नु भयो । ‘नयाँ जनादेशमा जाने फैसला लोकतन्त्रका विरुद्धमा हुन्छ , महासचिव पोखरेलको प्रश्न छ ।
उहाँले कुनैपनि मुद्दामा राजनीतिक दलले निरुपण गर्न नसके जनतामा जाने विश्वव्यापी मान्यता रहेको भन्दै त्यो नै संसदीय प्रजातन्त्रको विशेषता भएको दावी गर्नु भयो । उहाँले त्यस्तो फैसलाविरुद्ध मुद्दा मामिला गर्दै राजनीतिको विषयलाई अदालतमा लैजानेहरू लोकतन्त्रका विरोधी रहेको टिप्पणी गर्नु भयो ।
‘किनकि राजनीतिको सर्वेसर्वा राजनीतिक दलहरु हुन् अदालत होइन’ पोखरेलको भनाइ छ । तर उहाँले नेपालको राजनीतिक मुद्दाका हरेक विषय अदालतमा लगेर विवादमा पार्ने काम गरेको आरोप लगाउनु भयो । ‘कसका तर्फबाट आज सरकारमा रहेका पार्टीहरूका तर्फबाट त्यस्तो काम भएको छ । गठबन्धनका तर्फबाट हरेक राजनीतिक मुद्दालाई अदालतको विषयवस्तु बनाउने काम भएको छ’, पोखरेलको भनाई छ ।
उहाँले नेकपा एमालेले राजनीतिक मुद्दालाई अदालतको नभई जनताको विषयवस्तु बनाउन चाहेको दावी गर्नु भयो । उहाँले केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेकाले गल्ती ओलीकै भएको भनेर प्रचारबाजी गर्ने गरेपनि त्यसमा सत्यता नरहेको बताउनु भयो । ‘हो दुई पटक विघटन र पुनःस्थापना पनि भएको हो । तर आज अदालतमा भएको बहसलाई सुन्नुस् त रु’ पोखरेलले अदालतभित्रै स्वार्थको खेल भएको टिप्पणी गर्नु भयो ।