अदुवाले मूल्य नपाएपछि किसान चिन्तित
सल्यान -सल्यानको प्रमुख नगदेबालीको रुपमा रहेको अदुवाले मूल्य नपाएपछि किसान चिन्तित बनेका छन्।वर्षेनी अदुवाको मूल्य ओरालो लागेपछि किसान झनै मारमा परेका छन्। गत वर्ष ५० रुपैयाँ किलोसम्म बिक्री गरेका किसानहरु यस वर्ष भने ३० रुपैयाँ किलो कारोबार भएपछि मारमा परेका हुन्।
अदुवाको मूल्य लगातार घट्दै जाँदा व्यावसायिक अदुवा खेती गर्ने किसानहरुको संख्या घट्दै गएको शारदा नगरपालिका– ७ रामेखोलाका किसान कृष्ण बुढाथोकीले बताउनु भयो ।
बजार मूल्य नै पाउन छाडेपछि विगतका वर्षहरुमा १० रोपनीसम्म अदुवा लगाउने गरेको भएपनि आजभोलि भने २ रोपनीमा खुम्चिनु परेको उहाँले बताउनु भयो ।उहाँले भन्नु भयो अदुवा खेती पनि के आशले गर्नु बीउ, मल, ज्याला जोड्दा उल्टो घाटा हुन्छ। ३ हजार रुपैयाँ क्विन्टल बिक्री गरेर लगानी नै उठ्दैन।ु
बारीमा कुहिनुभन्दा उधारोमा नै भएपनि ३ हजार रुपैयाँ क्विन्टल बिक्री गरेको अर्का किसान कमल गिरीले बताउनु भयो ।७ क्विन्टल अदुवा ३ हजार रुपैयाँ क्विन्टल बिक्री गर्नु पर्ने बाध्यता भएको उनको भनाई छ। अदुवा बिक्रीमा गिरावट आएपछि किसानको लगानी डुब्ने अवस्था आएको उनको भनाई छ।
थोरै रोपेर धेरै फलाउन सकिने, कम मेहनत पर्ने र अन्नबालीभन्दा पर्याप्त आम्दानी गर्न सकिने उपजका रुपमा अदुवालाई लिइन्छ तर निरन्तर बजारमा समस्या आउँदा कठिन भएको किसानहरुको भनाई छ।
अदुवाको मूल्य घटेपछि यस वर्ष लगानी नै डुब्ने खतरा भएको हरिमान पुनले बताए। उनले भने, ु८ हजार रुपैयाँ क्विन्टल किनेर रोपेको बीउको मोलसमेत यो वर्ष नउठ्ने भयो।
अदुवा बजारीकरणको सुनिश्चितता नहुँदा किसान मारमा पर्दै आइरहेका छन्। अदुवा बिक्रीका लागि भारतीय बजारमा भर पर्नुपर्ने अवस्था छ।सल्यानमा १ हजार ७ सय २० हेक्टरमा २५ हजार ९ सय ७२ मेट्रिक टन अदुवा उत्पादन हुँदै आइरहेको कृषि विकास कार्यालयको तथ्यांकले देखाउँछ।