विवादमा आएपछि बतासको साइट हेर्न नमिल्ने बनाइयो, आरजुको संलग्नता पुष्टी
काठमाडौ -प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफू बतास समूहसँग आबद्ध नरहेको भने पनि उनी सो व्यापारिक घरानाको सल्लाहकार रहेको पुष्टि भएको छ ।
नारायण हिटी दरबार संग्रहालयमा रेष्टुरेष्टु संचालन गर्न खोजेको बतास समूहसँग आफ्नो कुनै संलग्नता नरहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले दाबी गरेपनि बतास समूहको सल्लाहकार भएको तथ्य बाहिरिसकेको छ । बतास समूहको वेबसाइटमा हिजोसम्म उहाँको तस्विर सल्लाहकार समुहको सूचीमा थियो तर आज आरजु राणाको उक्त तस्विर वेबसाइटबाट हटाइएको छ ।

प्रधानमन्त्री पत्नी राणाले सामाजिक सञ्जाल फेसबुक मार्फत – “संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ, तल उल्लेखित संस्थाहरु बाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ” भन्दै लेखेकी छिन् ।
तिव्र आलोचनाबाट बच्न राणाले बताससँग आफ्नो कुनै सम्बन्ध नभइरहेको बताइए पनि उनको वास्तविकता भने बुधबार नै छताछुल्ल भैसकेको छ । उता राणा र बतासको कनेक्सन छताछुल्ल भएपछि बुधबार नै बतासले आफ्नो वेबसाइटबाट राणाको तस्बिर हटाएको थियो । तस्बिर र संलग्नता हटाउँदा समेत आलोचना भएपछि बतासको बेबसाइट अहिले बन्द गरिएको छ । साइट बन्द गरेर राणाले आफ्नो संलग्नता नभएको जिकिर गर्नुलाई चर्को आलोचनाबाट पन्छिने दाउँको रुपमा हेरिएको छ ।