लोकगायक विष्णु खत्री माओवादी केन्द्र गलकोट नगर उपाध्यक्ष चयन
बागलुङ – लोकगायक विष्णु खत्री नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो ।
गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए । ‘पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु, कुनै पार्टीमा विचार र आस्था जोडिइसकेपछि नेतृत्वमै रहेर काम गर्नु उचित ठानें,’ उनले भने ।
राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उनको भनाइ छ । आफूलाई चिनाउने लोकसङ्गीत क्षेत्रको टेवा र उत्थानमा सधैं क्रियाशील भएर लाग्ने खत्रीको भनाइ छ । गलकोट-७ मल्ममा जन्मिएका उनी यसअघि माओवादी केन्द्रको नगर समिति सदस्य थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा खत्री माओवादी केन्द्रको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा सिफारिस समेत भएका थिए । लोकसङ्गीत क्षेत्रमा रुचाइएका गायक तथा सर्जक खत्रीले सयौं गीतमा स्वर दिएका छन् ।