‘युरेनियम’ बेच्न ३५ करोडको डिल: ८ कारोबारी पक्राउ
काठमाडाैं- प्रहरीले दुई किलाे आठ सय ग्राम युरेनियम जस्ताे देखिने पदार्थसहित काठमाडाैंबाट आठ जनालाई पक्राउ गरेकाे छ।
प्रति किलाे ३५ कराेड रुपैयाँमा बिक्री गर्न लागिएकाे सूचनाका आधारमा प्रहरीले बौद्धस्थित ह्यायत रिजेन्सी होटलकाे कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट उक्त युरेनियम बरामद गरिएकाे महानगरीय प्रहरी परिसर काठमाडाैंले जनाएकाे छ।
प्रहरी आफै ग्राहक बनेर उक्त युरेनियम बरामद गरेकाे बुझिएकाे छ। प्रहरी प्रधान कार्यालयबाट सादा पोशाकमा परिचालित टाेलीले भुपेन्द्रबहादुर खड्का र नवराज महतलाई युरेनियमसहित नियन्त्रणमा लिएकाे परिसरले जनाएकाे छ।
उनीहरूलाई सोधपुछ गर्ने क्रममा उक्त युरोनियम जस्तो देखिने पदार्थलाई भारतबाट ल्याएर प्रति किलाे ३५ करोडमा बिक्री गर्न लागेको खुलेकाे प्रहरीले जनाएकाे छ।
पक्राउ परेकाहरूकै बयानका आधारमा सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-४ घर भइ काठमाडाैं महाँकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-३ घर भइ ठमेल बस्ने ४० वर्षीय गोपीलाल दास, सिरहाकै वरियापारपट्टी गाउँपालिका-१ घर भइ ठमेल बस्ने ५५ वर्षीय जिवछनारायण यादव, महोत्तरी घर भइ गोकर्णेश्वर नगरपालिका-७ शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी, भारत बिहार बस्ने ६३ वर्षीय उपेन्द्रकुमार मिश्र तथा ४४ वर्षीय राजु ठाकुर छन्।
उनीहरूकाे साथबाट कार, माेटरसाइकललगायतका सामग्री बरामद गरेकाे प्रहरीले जनाएकाे छ। पक्राउ परेकाहरूलाई ‘रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अर्न्तगत मुद्दामा काठमाडाैं जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएकाे छ।