सिलिण्डर बम बिस्फोट
सुखिलाल चौधरी
उदयपुर । जलजले खानेपानी उपभोक्ता समितिको भवनमा रहेको पूरानो वडा कार्यालयलाई लक्षित गरी अज्ञात समूहले सिलिण्डर बम बिस्फोट गराएकाे छ । सोमबार राति अज्ञात समूहले त्रियुगा नगरपालिका–६ जलजलेस्थित पुरानाे वडा कार्यालयलाई लक्षित गरी सिलिण्डर बम बिस्फोट गराइएकाे हो ।
बमको विस्फोटले जलजले खानेपानी उपभोक्ता समितिको भवनमा क्षति पुगेको वडा सदस्य जयराम पंजियारले बताउनुभयो ।
‘अज्ञात समूहले ५ केजी बाला सिलिण्डर, पराल र मोटर साइकलको टायर प्रयाेग गरेर आगो लगाएको देखिन्छ, बमले झ्यालको सिसा, सिलिङ्ग पंखा, ढोकामा क्षति साथै प्लाष्टिकको कुर्सी, टेबल जलेको छ दराज भित्रका कागजपत्र केही भएको छैन । पंजियारले भन्नुभयो, ‘डेढ महिना अगाडिसम्म त्यसै ठाउँमा वडाको कामकाग हुँदै आएपनि डेढ महिना यता वडा कार्यालय आफ्नै भवनमा सरेको थियो, हामीले ट्रकको टायर फुटेको अनुमान गरेको थियाैँ तर, बम बिस्फाेट गराइएकाे रहेछ ।’
जिल्ला प्रहरी कार्यालय उदयपुरले अज्ञात समूहले जलजले खानेपानी उपभोक्ता समितिको कार्यालयमा बम विस्फोट गराएको पुष्टि गरेको छ । प्रहरीका अनुसार बम बिस्फोटले जलजले खानेपानी उपभोक्ता समितिको भवनको झ्यालको सिसा, ढोका तोडिएको, टेवल, कुर्सी जलेको र पंखामा क्षति पुगेको थियो । बम बिस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन् ।
यस अघि असार ६ गते त्रियुगा नगरपालिकाको कम्पाउण्ड भित्र शंकास्पद बस्तु फेला परेको थियो ।