तीन वर्षमा सम्पन्न हुने द्रुत मार्गकाे लागत १ खर्ब ७५ अर्ब
काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई द्रुत मार्ग फास्ट ट्रयाक ३ वर्ष ६ महिना भित्र सम्पन्न गर्ने जनाएको छ ।
सेनाले बुधबार पत्रकार सम्मेलन गरी द्रुत मार्ग निर्माण सम्बन्धि जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत १ खर्ब ५५ अर्ब रुपैया रहेको छ । मुल्य अभिवृद्धि कर सहित कुल लागत १ खर्ब ७५ अर्ब रहेको छ ।
अन्तर्राष्ट्रिय परामर्शदाताबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन डिपिआरमा आयोजनामा निर्माण हुने सम्पुर्ण संरचनाहरुको मात्र लागत अनुमान गरिएको छ । आयोजना निर्माणको दौरान हुन आउने अन्य विविध खर्चहरुको बारेमा भने सेनाले बताएको छैन । निर्माणको समयमा आउने विविध र भैपरि खर्चको नेपाल सरकारले उपलब्ध गराउने नेपाली सेनाले बताएको छ ।
द्रुत मार्ग खोकनाबाट शुरु भई नीजगढसम्म ७२ दशमलब ५ किलोमिटरको ४ लेनको बाटो निर्माण हुने भएको छ । यो यसअघिको डिपिआरको भन्दा ३ दशमलब ७० किलोमिटर सडक लम्बाई कमि हो । पहाडी भुभागमा २५ मिटर र समथरमा २७ मिटर चौडाको बाटो निर्माण हुने भएको छ । यस मार्गमा बन्ने ८७ पुल मध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाइने भएको छ । यो सडकमा ३ वटा सुरुङ्ग मार्ग बन्ने भएको छ । महादेव डाँडामा ३ दशमलब ३५ किलोमिटर र छोक्रेमा १ दशमलब ६३ किलोमिटर र लेनडाँडामा १ दशमलब ४ किलो मिटर सुरुङ्ग मार्ग बन्ने छ । यसअघि एसियाली विकास बैकले यस अघि छोक्रे डाँडा, ठिंगन र लेन डाँडामा १ दशमल ३७ किलोमिटरको सुरुङ्गमार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनः रेखांकन गरेर तीन स्थानमा सुरुङ्ग मार्ग बनाउन लागेको हो ।
खोकनाको विवाद मिलाउनका लागि सेनाले दुई स्थानको रेखांकन परिर्वतन गरेको छ । खोकना क्षेत्र र महादेवटार लेन डाडा क्षेत्र गरी दुई ठाउँमा रेखांकन परिर्वतन भएको हो । धार्मिक एवंम सांस्कृतिक महत्व बोकेको खोकना इलाकाको सिकाली मन्दिर साथै कोदेश क्षेत्रलाई संरक्षण हुने गरी सामान्य रेखांकन परिर्वतन गरिएको नेपाली सेनाले जनाएको छ । साथै महादेवटारदेखि लेनडाँडासम्मको खण्डमा एडिबी द्धारा प्रस्तावित टनेलको विकल्पमा तथा नयाँ थप टनेलहरु सहित रेखांकन परिर्वतन भएको छ ।
द्रुत मार्गको सम्पूर्ण कामको ८ प्रतिशत काम सम्पन्न भइसकेको सेनाले जनाएको छ । रक्षा मन्त्रालयले पेश गरेको ५ महिना पछि यही भदौ १ गते मन्त्रिपरिषद् बैठकले द्रुत मार्ग निर्माणको डिपिआर स्वीकृत गरेको थियो । द्र
द्रुत मार्ग निर्माणको क्रममा १ लाख ५१ हजार रुख काटिने संभावना भएकाे जनाइएकाे छ ।