Connect with us
Kapilvast Forest

विदेशबाट फर्केर सामूहिक तरकारी खेती

२०७६, १३ भाद्र शुक्रबारमा प्रकाशित

गलकोट, १३ भदौ । सत्र वर्ष साउदी अरबमा कृषि क्षेत्रमा काम गरेर स्वदेश फर्किएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ गिरौदीका जीतबहादुर रानामगर विदेश बसाइँबाट सन्तुष्ट भएनन ।

त्यहाँ बस्दा कृषिको अनुभव सङ्गालेका उनले विगत आठ वर्षदेखि वृहतरूपमा तरकारी खेती गर्दै आएका छन् । अहिले गलकोट तथा वडिगाड क्षेत्रको सफल तरकारी किसानको रुपमा परिचय बनाएका कृषक रानामगरलाई साउदी बसेरै स्वदेश फर्कीएका सोही स्थानका रामप्रसाद पुन र अर्का शेरबहादुर श्रीसले साथ दिए ।

ती तीनै जनाले सामूहिकरूपमा मिलिजुली कृषि फार्म खोलेर तरकारी खेती शुरु गरेका हुन् । वार्षिक रु ४५ हजार तिर्ने गरी १८ रोपनी जग्गा भाडामा लिएर गरिएको तरकारी खेतीबाट अहिले मनग्य आम्दानी हुन थालेको छ । “तरकारी बेचेर कमाएको शुरुको आम्दानीले लगानी थप्नै ठिक्क भयो”, कृषक रानामगरले भने, “खेती गर्न थालेको आठ वर्षपछि बल्ल बचत गर्न थालेका छौँ ।”

गिरौदै खोलामा १२ रोपनी र बडिगाड गाउँपालिका–२ खर्वाङमा छ रोपनी जग्गा भाडामा लिएर अहिले हाइटेक प्रविधिको १२ टनेलमा टमाटर, सिमी, घिरौँलो, काँक्रो, सागलगायत अन्य बेमौसमी तरकारी फलाइएका छन् । हालसम्म तरकारी खेतीमा रु ४० लाख लगानी भइसकेको उनले बताए । परम्परागत प्रविधिभन्दा हाइटेक प्रविधिमा दोब्बरले नाफा गर्न सकिने कृषक रानामगरको अनुभव छ । हाइटेक प्रविधिको टनेल निकै खर्चिलो भए पनि दिर्घकालीनरूपमा आम्दानी गर्न निकै सहज भएको अर्का कृषक रामप्रसाद पुनले बताए ।

हालसम्म झण्डै रु ४० लाख लगानी गरिसकेका उनिहरूले अबको आम्दानी पूरै बचत हुने जानकारी दिए । रानामगरले भने तरकारीमा आवश्यक मलका लागि कुखुरा, बाख्रा तथा बङ्गुरसमेत पाल्दै आएका छन्। अहिले सामूहिकरूपमा गरिएको तरकारी खेतीबाट वार्षिकरूपमा रु २० लाख आम्दानी गर्ने गरेको अर्का सहकर्मी श्रीसले बताए ।

“हामीले दुई जनालाई रोजगारीसमेत प्रदान गरेका छौँ, आवश्यकताअनुसार अन्य कामदारसमेत ज्यालादारीमा लिन्छौँ”, उनले भने, “सबै खर्च कटाउँदा रु १५ लाख बचत हुन्छ, त्यो तीन जनालाई बाँड्छौँ ।” गिरौदीको तरकारी खेतीमा सोझै सिँचाइ कुलोको पानी थोपा सिँचाइमार्फत प्रयोग गरिँदै आएको र खर्वाङको तरकारी खेतीमा पम्पको सहायताले बडिगाड खोलाको पानी ल्याएर प्रयोग गरिँदै आएको कृषक श्रीसले जानकारी दिए ।

उत्पादन भएको तरकारी गलकोट, खर्वाङ तथा नजिकै रहेको गुल्मीको मुसिकोट नगरपालिकाभित्रै खपत हुँदै आएको छ । हालसम्म प्याक्ट कार्यक्रममार्फत रु १० लाख र बडिगाड गाउँपालिकाबाट केही रकम अनुदान प्राप्त गरे पनि प्राविधिकरूपमा कसैबाट सहयोग नपाएको कृषक रानामगरले बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu