छोरीले हालिन् बुवाविरुद्ध मुद्दा
काठमाडौं । कक्षा ९ मा पढ्दापढ्दै सुनसरी हरिनगर–४ की किरणकुमारी यादवलाई अभिभावकले विवाहको प्रस्ताव गरे । तर, किरणकुमारीले स्वीकार गरिनन् । पढाई पूरा गरेर छाड्ने अठोट लिइन् ।
बरु उनले उच्च शिक्षासम्म पढ्न पाउनु छोराछोरीको समान अधिकार भएको जनाउँदै सुरुवातमा अभिभावक सहमत नहँदा अध्ययन गर्न आफ्नै बुवाबिरुद्ध अंश मुद्दा हालिन् । त्यसपछि शुरु भयो किरणकुमारीलाई बुबा र दाजुबाट पटक पटक मानसिक तथा शारीरिक यातना ।
किरणकुमारीका बुबा र दाजुले गरेको हिंसाको व्यवहार प्रहरीसम्म पुग्यो । मुद्दा हालेको थाहा पाउनेबित्तिकै छोरीलाई अंश नदिने बुवा मोहन यादवले रातारात भएको जग्गा केही जग्गा अर्कैको नाममा पास गरे । बाँकी थेरै जग्गा तीन भागको एक भाग किरणकुमारीले पाइन् । कक्षा १२ सम्म पढेर अहिले उनले विवाह गरिसकेकी छिन् ।
एक वर्षअघि दाउरा संकलन गर्न गएकी १४ वर्षीय निर्मला सदालाई कोसी गाउँपालिका, कटान क्षेत्रमा एक्लै फेला पारेर स्थानीय नौसाद मियाँलगायत युवाले अभद्र व्यवहार र हातपात गरे ।
निर्मला चिच्याएपछि उनीहरु भागेकाले थप अनपेक्षित घटना हुन पाएन । यस्ता घटना बढ्दो छ । आफ्न्तबाटै महिला हिंसा भइरहेको एक तथ्यांकले देखाएको छ । समाचार नागरिक दैनिकले छापेको छ ।