Connect with us
Kapilvast Forest

दश वर्षमा वैदेशिक रोजगारीमा जाने ७ हजार ४ सय ५५ को मृत्यु, अधिकाँशको घरबार अस्तव्यस्त

२०७६, २४ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं :  वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर्ने तीतो यथार्थ हामीमाझ छ ।

दश वर्षको अवधिमा रोजगारीमा गएकामध्ये झण्डै साढे सात हजारले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६५/६६ देखि २०७५/७६ सम्म आइपुग्दा सात हजार ४५५ ले रोजगारीका क्रममा विदेशी भूमिमा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार सो अवधिमा १७१ महिला र सात हजार २८४ पुरुषको ज्यान गएको छ ।

अवैध रुपमा विदेशिएर मृत्यु हुने वा बेपत्ता हुनेको तथ्याङ्क सरकारसँग छैन । त्यस्ता घटना केवल तिनका परिवारबाहेक कसैलाई पनि थाहा छैन ।

बोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ मा ७७, आव २०६६/६७ मा ४१९, आव २०६७/६८ मा ५६५, आव २०६८/६९ मा ६४६ र आव २०६९/७० मा ७२३ ले विभिन्न कारणबाट ज्यान गुमाएका छन् । त्यसैगरी, आव २०७०/७१ मा ८७६, आव २०७१/७२ मा एक हजार ७, आव २०७२/७३ मा ८१३, आव २०७३/७४ मा ७५५, आव २०७४/७५ मा ८२२ र २०७५/७६ मा ७५३ नेपालीले विभिन्न देशमा ज्यान गुमाएका छन् ।

सो अवधिमा सबैभन्दा बढी मलेसियामा दुई हजार ६७० युवाले ज्यान गुमाएका छन् । त्यस्तै, साउदी अरेबियामा दुई हजार ३५, कतारमा एक हजार ४५७, संयुक्त अरब इमिरेट्स् (युएई) मा ६०४ र अन्य मुलुकमा ६८९ जनाले ज्यान गुमाएका बोर्डले जनाएको छ ।

विविध कारणले कामदारले अनाहकमै ज्यान गुमाउने गरेका छन् । मुख्यरुपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्यालगायत कारणबाट नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको छ ।

दश वर्षको अवधिमा कार्डियाक एरेष्टबाट एक हजार ३०९, प्राकृतिक मृत्युबाट एक हजार ६१७, हृदयाघातबाट ६०३, कार्यस्थलमा दुर्घटनाबाट ६४४, आत्महत्याबाट ८९२ र सडक दुर्घटनाबाट एक हजार ३७ जनाको ज्यान गएको बोर्डले जनाएको छ । मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना ‘कल्चरल सक्ड’, परिवारसँगको विछोडका कारण एक्लोपन महशुस हुनु, मानसिक तनाव, कार्यस्थलको तनावका कारण विदेशमा रहेका नेपाली आत्महत्या गर्ने अवस्थामा पुगेको बताउछन्।

 

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu