यसवर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक कोइरालालाई
काठमाडौं, भदौं ३१। दोस्रो जनआन्दोलन सफल भएदेखि २०६४ बाट हरेक वर्ष प्रदान गरिंदै आएको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक यसवर्ष पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई ९मरणोपरान्त० प्रदान गरिने भएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ का नेतृत्वकर्ता तथा पूर्वप्रधानमन्त्री कोइरालालार्इ संविधान दिवसको दिन पारेर गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति प्रतिष्ठानले आगामी ३ असोजमा सो पदक प्रदान गर्न लागेको हो ।
प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधानले कोइरालाको सम्मानमा मरणोपरान्त सो पदक प्रदान गर्न लागिएको जानकारी दिए ।
सो पदक राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गरी प्रदान गरिनेछ ।
गत वर्ष सो पदक लोकतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका निभाएको भन्दै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको थियो भने त्यसअघि पूर्व राष्ट्रपति रामवरण यादव, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ तथा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलालाई दिइएको थियो ।
यसैगरी शान्तिनायक गिरिजाप्रसाद कोइरालालाई समेत मरणोपरान्त सो पदक प्रदान गरिएको थियो ।