आलमको अपराध : २० वर्षअघि ज्युँदै मान्छे झुण्ड्याएका थिए
काठमाडौं । २०६४ सालमा बम विस्फोट र त्यसका घाइतेको सामूहिक हत्या गरेको आरोपमा १२ वर्षपछि पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताव आलम त्यसभन्दा अघि पनि अपहरण, शरीर बन्धक तथा कुटपिटको घटनामा संलग्न रहेको पुष्टि भएको छ।
२०५६ सालमा वनराज्यमन्त्री रहेका आलमले रौतहटका तत्कालीन जिविस सदस्य जयप्रकाश कौशलको अपहरण गरी उनलाई बन्धक बनाएका थिए। त्यही अपहरण काण्डका विषयमा तत्कालीन एमालेले संसद् अवरुद्ध पारेपछि सरकारले पुनरावेदन अदालतका तत्कालीन न्यायाधशि गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा अधिवक्ताद्वय अग्नि खरेल र शेरबहादुर केसी सदस्य रहेको न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो।
आयोगले आलमलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो। आयोगको प्रतिवेदन बुझेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आलमलाई राज्यमन्त्रीबाट हटाएका थिए। त्यसबेला उनी राज्यमन्त्री पदबाट मात्र हटे, घटनामा संलग्न भएबापत् उनीमाथि थप कारबाहीको प्रक्रिया भने अघि बढेन । आयोगले दिएको प्रतिवेदन पनि सरकारले सार्वजनिक गरेन । कान्तिपुर दैनिकमा समाचार छ ।