कपिलवस्तुमा लगाइएको कर्फ्यु हट्यो, जनजीवन सामान्य बन्दै
सनिउल्ला धोबी,१६ कार्तिक,
कपिलवस्तुको कृष्णनगरमा लगाइएको कफर्यु विहीबार विहान ११ बजेदेखि लगाइएको कफर्यु शनिबार विहान ६ बजेदेखि हटेको छ । जिल्ला प्रशासनले शनिबार विहानै कफर्यु हटेको जानकारी दिएको हो । लक्ष्मी पूजाको मूर्ति बिर्सजनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा प्रशासनले कर्फयु लगाएको थियो ।

सम्भावित घटनालाई रोक्न भन्दै प्रशासनले कफर्यु लगाएको थियो । दीपावलीमा पूजा गरिएको गणेश र लक्ष्मीको मूर्ति विसर्जनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कफर्यु लगाएको थियो । झडपमा सुरज कुमार पाण्डेको मृत्यु भएको थियो । सो घटनापछि लगाइएको कर्फयु शनिबार विहान ६ बजेदेखि हटाएको कपिलवस्तु प्रहरीले जनाएको छ । जारी कफर्यु हटे पछि कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ ।
विहीबार राति दुवै पक्षबीच सहमति भएपछि लक्ष्मीको मूर्ति विसर्जन गरिएको थियो । कर्फ्युकाबीच सुरक्षा घेराबन्दीमा मूर्तिको विर्सजन गरिएको थियो । दुई पक्षबीच भएको सहमतिमा मृतक सुरज कुमार पाण्डेको क्षतिपूर्तिका लागि गृहमन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने ब्यक्तिलाई कानुनी कार्वाही गर्ने, प्रहरीले दमन गरे–नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कर्फ्युलाई क्रमशः घटाउँदै लैजाने लगायतका बुँदा रहेका छन् ।
दुवै पक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीपशमशेर जबरा, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको सहभागिता रहेको थियो । कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि प्रशासनले कर्फ्यु जारी गरेको थियो ।
कर्फ्यु आदेशको अवज्ञा गरेको भन्दै प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमै चियापसल सञ्चालन गर्दै आएका भारतीय नागरिक सुरजकुमार पाण्डेको दाहसंस्कार गरिएको छ ।