ई -पासपोर्ट छाप्ने अन्तर्राष्ट्रिय बोलपत्र रद्द
काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित विभिन्न पत्रपत्रिकाले आज पनि भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्साबारे प्रमुख समाचार छापेका छन् । यसका साथै पत्रपत्रिकाले विभिन्न फरक – फरक विषयका समाचारलाई पनि प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।
कान्तिपुर दैनिकमा मुलुकभित्रै सुरक्षा मुद्रण प्रेस स्थापना प्रक्रिया अघि बढाउने भन्दै ५० लाख ई – पासपोर्ट छाप्न परराष्ट्र मन्त्रालयले आह्वान् गरेको अन्तराष्ट्रिय बोलपत्र अन्तिम घडीमा आएर सरकारले रद्द गरेको विषयले शीर्ष स्थान पाएको छ । समाचार अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बोलपत्र प्रक्रिया बिहीबार राति रद्द गरिएको हो । बोलपत्र रद्द गर्नेबारे बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभएको छ ।
गोरखापत्र दैनिकमा १० महिनामा १० लाख पर्यटक नेपाल भित्रिएको र २० लाख भित्र्याउने आधार बन्दै गरेको समाचारले प्राथमिकता पाएको छ । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ४४७ जनाले नेपाल भ्रमण गरेका छन् । जुन गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो । समाचारमा उल्लेख भए अनुसार नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यटक संख्या बढाउन सहयोग पुगेको छ ।