भरतपुर विमानस्थल १० दिनका लागि बन्द, यात्रुलाई शास्ती
चितवन : भरतपुर विमानस्थल १० दिनका लागि बन्द गरिएको छ। नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसंभार र पार्किङ बिस्तार गर्नुपर्ने भएकाले आइतबारबाट १० दिन हवाई सेवा बन्द गरेको जनाएको छ। प्राधिकरण कार्यालयले विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरेको छ।
विमानस्थल २४ गतेसम्म बन्द रहनेछ। विमानस्थल प्रमुख पवनकुमार गौतमले अहिले रहेको धावनमार्ग जीर्ण भई विभिन्न ठाउँ-ठाउँमा खाल्डा-खुल्डी परेकाले यसलाई मर्मत सम्भार गर्न विमानस्थल बन्द गर्नु परेको बताए। धावनमार्ग र पार्किङस्थल मर्मत सम्भारका लागि प्राधिकरणले ठेक्का लगाई काम शुरु गरेको छ। विमानस्थलको रनवेलाई ओभरले गरेर ६० एमएमको कालोपत्रे गरिने छ।
विमानस्थलमा उडान र अवतरणको चाप बढेसँगै यसलाई पनि बिस्तार गर्न लागिएको कार्यालयले जनाएको छ। करिव २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभरले गरिएको थिएन। धावनमार्गमा विमानलाई समस्या हुन थालेपछि ओभरले गर्ने योजना अघि सारिएको हो। यस्तै पार्किङ क्षमता पनि विस्तार गर्न लागिएको छ। धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७८८ रूपैयाँलागत अनुमान गरिएको छ। करिब ६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २ सय मिटर लामो र ३० मिटर चौडा छ।
पार्किङस्थलमा अहिले साना जहाज चारबटा अटे पनि एटिआर र जेट स्टिमहरू एक साइडमा एउटा मात्रै अटाउन सक्छन्। विमानस्थल मर्मतसम्भार भएपछि ठूला तथा साना जहाज उडान र अवतरण गर्न सजिलो हुने कार्यालयको भनाई छ। नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दै अहिले पर्यटकको कम चापलाई मध्यनजर गर्दै मर्मतसंभारको कामलाई अघि बढाइएको प्रमुख गौतमले बताए। विमानस्थल बन्द हुँदा चितवनबाट काठमाडौं, पोखरा जाने हजारौँ हवाइ यात्रु प्रभावित भएका छन्। भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच, पाँच जहाज काठमाडौँ र एक-एक जहाजले पोखरा उडान भर्दै आएका छन्।