प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी
काठमाडौं । प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरिएको छ । काउन्सिलले हरेक बर्ष वर्गीकरण गर्दा पत्रपत्रिकालाई विभेद गरेको भन्दै पत्रकारहरुले अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
आन्दोलनरत पत्रकारका तर्फबाट गठित केन्द्रिय संघर्ष समितिका संयोजक तथा प्रकाश साप्ताहिकका सम्पादक दिपक पाण्डेले काउन्सिलका पछिल्ला गतिविधिले नेपाली पत्रकारहरुले शिर झुकाउनुपर्ने स्थिति सृजना भएको, पत्रकार र संचारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल आफै आचारसंहिता उल्लंघन गरिरहेकाे र पत्रकारीताको मर्यादाविपरीत पत्रकार तथा संचारमाध्यमको हुर्मत लिने काम गरिरहेकाले तालाबन्दी गर्नुपरेको बताउनुभएको छ ।
काउन्सिलका पदाधिकारीको हस्तक्षेपका कारण निस्पक्ष, स्वतन्त्र र पारदर्शी रुपमा पत्रिका वर्गीकरण हुन नसकेको भन्दै काउन्सिलले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७४ /०७५ को पत्रपत्रिका वर्गीकरण खारेज गरी पारदर्शी रुपमा पुर्नवर्गीकरण गर्न प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष, सूचना तथा प्रसारण विभागका महानिर्देशक र सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाइ सकिएको पनि पाण्डेले जानकारी दिनुभएको छ । तर, अहिलेसम्म काउन्सिलले आफुहरुका माग पूरा नगरेकाले काउन्सिल शुद्धिकरण तथा पत्रिका वर्गीकरण पारदर्शी बनाउन दबाब दिने उद्देश्यले शुक्रबार बिहान ११ देखि १२ बजेसम्म प्रेस काउन्सिल घेराउ गरिएको उहाँको भनाई छ ।
आन्दोलनरत पत्रकारहरुले यो अभियानलाई सफल पार्न र देशव्यापी रुपमा ऐक्यवद्धता जनाउन सबै पत्रकार तथा महासंघका सबै शाखाहरुलाई आग्रहसमेत गरेका छन् ।
प्रेस काउन्सिल नेपालको कार्यालयमा आयोजित धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, महासंघका पूर्व केन्द्रीय सदस्य इश्वरी वाग्ले, रामहरी सिलवाल, पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव सिर्जन झा, प्रेस संगठनका उपत्यका सदस्य तारा नेपाल, प्रेस युनियनका उपत्यका सल्लाहकार पदमराज जोशी, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिव रमेश महतरा, प्रेस सेन्टर नेपाल ३ नं संयोजक कुमार वाङदेल लगायत वरिष्ठ पत्रकारहरु विष्णुकुमार प्रसाइँ, विजय विस्फोट, एलएस लामा, पिपुल्स भोलियन्टर्स जर्नालिस्ट फोरमका संयोजक नवराज न्यौपाने, पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारी, ललितपुर अध्यक्ष ज्ञानप्रसाद पौडेल, भक्तपुर अध्यक्ष पुष्कर बुढाथोकी, झापा अध्यक्ष तारामणि सापकोटा, महासंघका केन्द्रीय सदस्य माधव चौलागाँइ, केन्द्रीय लेखा आयोग सदस्य भुपेन्द्र आचार्य र वरिष्ठ पत्रकार चक्रपाणि नेपाल लगायतले आन्दोलनरत पत्रकारहरुको पक्षमा ऐक्यवद्धता जनाउनु भएको थियो ।
शान्तिपूर्ण धर्ना कार्यक्रममा प्रहरी परिचालन गरिएको भनदै पत्रकारहरुले आपत्ति जनाएका छन् । धर्ना कार्यक्रम समापन पछि काउन्सिलको मूल ढोकामा टाँगिएको ब्यानर प्रहरीले नियन्त्रणमा लिएकाेप्रति पत्रकारहरूले अापत्तिसमेत जनाएका छन् ।
केन्द्रिय संघर्ष समितिका संयोजक दिपक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा २४ घण्टे अल्टिमेटम सहित तालाबन्दी गरिएको हो । आइतबारसम्म समस्या समाधानका लागि पहल नगरिए थप शशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने पाण्डेको भनाई छ । कार्यवाहक अध्यक्षको कार्यकक्षमा लगाइएको ताल्चाको साँचो सञ्चारमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको बताइएको छ ।