दाङमा सवारी दुर्घटना हुँदा ३६ को मृत्यु, १०५ गम्भीर घाइते
दाङ । चालू आर्थिक वर्ष २०७६र७७ को पहिलो चार महिनामा १२० सवारी दुर्घटना हुँदा ३६ को मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार मृत्यु हुनेमा २१ पुरुष, ६ महिला, तीन बालक, ६ बालिका रहेका छन् ।
चार महिनमा भएका १२० सवारी दुर्घटनामा १ सय ५ जना घाइते भएका छन् । जसमा ७० पुरुष, २० महिला, १० बालक, ६ बालिका गरी १०५ गम्भीर तथा ३५ पुरुष, २३ महिला, पाँच बालक, १४ बालिका गरेर ७७ सामान्य घाइते भएको रेग्मीको भनाइ छ ।
ट्राफिक प्रमुख रेग्मीका अनुसार चालकको लापरवाही, ओभरटेक, तीव्रगति, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नु, सवारीको अवस्था ठीक नहुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, छाडा पशुचौपाया, सडकको अवस्था खराबलगायतका कारण दुर्घटना हुने गरेको छ ।
ट्राफिक प्रमुख रेग्मीका अनुसार साउनमा ट्रकरटिपर चार, बस चार, जिपरकार चार, ट्र्याक्टर एक, मोटरसाइकल १३ तथा अन्य गरी २७ सवारी दुर्घटना भएको थियो । भदौमा ट्रक तीन, टिपर एक, बस तीन, जीपरकार दुई, ट्र्याक्टर दुई, टेम्पो तीन, मोटरसाइकल १५ गरेर जम्मा २९ सवारी दुर्घटना भयो । असोजमा ट्रक एउटा, टिपर एक, बस दुई, माइक्रो एक, जिप÷कार दुई, टेम्पो तीन, मोटरसाइकल १३ गरी २३ दुर्घटना भएका छन् । कात्तिकमा ट्रक एउटा, बस तीन, माइक्रो एउटा, जिप एक, कार दुई, ट्र्याक्टर तीन, टेम्पो चार र मोटरसाइकल ११ तथा अन्य दुई गरी २७ दुर्घटनामा परेको रेग्मीले बताउनुभयो । मङ्सिरमा टिपर दुई, बस तीन, ट्र्याक्टर दुई, मोटरसाइकल सात गरेर १४ दुर्घटनामा परेका थिए ।
सडकको स्तर सुधार तथा चालकले होसियारी नअपनाएसम्म सवारी दुर्घटना न्यूनिकरण नहुँदे प्रमुख रेग्मीको भनाइ छ ।सवारी दुर्घटना न्यूनिकरणका लागि सरकारले ट्राफिकसम्बन्धी विषेश चेतनामूलक कार्यक्रम ल्याउनुपर्ने सर्वसाधारण बताउँछन् ।