सिमेन्ट गुणस्तर खस्कने र संरचना कमजोर भएको भन्दै लेखा समितिको यस्तो निर्देशन
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको गुणस्तरको मापदण्डमा पछिल्लो पटक नेपाल गुणस्तर परिषद्ले गरेको मापदण्ड कार्यान्वयन नगर्न निर्देशन दिएको छ।
सोमबार बसेको लेखा समितिको बैठकले यसअघि २ भदौ २०५५ मा गरिएको निर्णयअनुसारको मापदण्ड कार्यान्वयन गर्नको लागि निर्देशन दिएको हो। परिषद्ले गरेको पछिल्लो निर्णयबाट सिमेन्ट गुणस्तर खस्कने र संरचना कमजोर भएको भन्दै पुरानै मापदण्ड कायम गर्न निर्देशन दिएको समिति सभापति भरतकुमार शाहाले बताए।
परिषद्को ३ असार २०७६ मा बसेको बैठकले म्याग्नेसियम अक्साइड (एमजिओ) को मात्रा ६ प्रतिशतसम्म पुर्याउन सक्ने र अघुलनशील पदार्थ (आइआर) को मात्रा ४ प्रतिशतसम्म पुर्याउन सक्ने निर्णय लिएको थियो। यस विषयमा लेखा समितिले रसायशास्त्री तथा सरकारकारी अधिकारीहरूसँग छलफल गरेपछि पुरानै मापदण्ड कार्यन्वयन गर्नको लागि आग्रह गरेको हो।
जसअनुसार एमजिओ ५ प्रतिशतसम्म हुन सक्ने छ भने आइआर २ प्रतिशत हुनुपर्ने हुन्छ। एमजिओ र आइआर जति कम भयो सिमेन्ट गुस्तर त्यति राम्रो मानिन्छ।