पोखरीमा पालिएको डेढ क्विन्टल माछा मरे
चितवन -माडी नगरपालिका-८ कान्तिपुरस्थित सूर्योदय कृषि सहकारी संस्थाले पालेको एउटा पोखरीको डेढ क्विन्टल माछा मरेका छन्। सामूहिक खेतीअन्तर्गत २० वटा पोखरीमा पालिएको माछामध्ये सोमबार एउटा पोखरीको माछा मरेका हुन्।
माछा के कारणले मरे भन्ने अझै नखुलेको सहकारीका प्रबन्धक सिद्धि गायकले बताए। ‘अक्सिजन कम भएर मरे कि कसैले गडबढी गरेर मरे अझै पत्ता लागेको छैन‚ उहाँले भन्नु भयो , ‘१२ कट्ठाको एउटा पोखरीको डेढ क्विन्टल जति माछा मरेका छन्।’
डेढ क्विन्टल माछा मर्दा करिब ७० हजार रुपैयाँ नोक्सान व्यहोर्नु परेको उनले बताए। सामूहिक खेतीमा १५ जना किसान आवद्ध छन्। ‘माछा मरेका पोखरीको पानी परीक्षणका लागि ल्याबमा पठाइएको छ‚ उहाँले भन्नु भयो त्यसपछि मात्रै माछा के कारणले मरे भन्ने खुल्ला।’
सोमबार बिहान माछालाई दाना हाल्न जाँदा पोखरीका सबै माछा मरेको भेटिएको माछापालक किसान गंगालाल गायकले बताउनु भयो ।