Connect with us
Kapilvast Forest

बाघको आक्रमणबाट दुई वर्षमा १७ को मृत्यु

२०७७, २७ फाल्गुन बिहीबारमा प्रकाशित

file photo

काठमाडौं –घरनजिकको सामुदायिक वनमा बुधबार घाँस काट्न गएकी एक महिला बाघको आक्रमणमा मारिएकी छन् । मधुवन नगरपालिका–३ को सम्झना सामुदायिक वनमा स्थानीय २९ वर्षीया रिना भनिने रेनुका सुनारको मृत्यु भएको हो ।

असोजयता मात्रै बाघको आक्रमणबाट यहाँ ८ जनाको मृत्यु भएको निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत असिम थापाले बताए । ‘दुई वर्षको बीचमा बर्दियामा १५ र बाँकेमा दुई जना गरी १७ जनाको मृत्यु भइसकेको छ,’ उहाँले भन्नु भयो  । अधिकांश घटना वनमा चरीचरन र घाँसदाउरा गर्ने क्रममै भएका छन् । तीमध्ये निकुञ्जभित्रको पूर्वपश्चिम राजमार्गमा एक जना र अन्यको मध्यवर्ती र संरक्षित क्षेत्रमा मृत्यु भएको निकुञ्जले जनाएको छ ।

गेरुवा गाउँपालिकाको सरकारी सामुदायिक वन, ठाकुरबाबा र मधुवन नगरपालिकामा बाघको आक्रमणका घटना बढेको छ । यी तीनै स्थान वनको नजिक बस्ती विकास भएका क्षेत्र हुन् । बस्ती बढ्दै गए पनि वन कार्यालयले बाघको सम्भावित आक्रमणबाट बच्न स्थानीयलाई सुरक्षा सचेतनासम्बन्धी कुनै जानकारी नदिँदा घटना बढ्दै गएको मधुवन–३ का फलराम थारूले बताउनु भयो  । ‘बाघबाट बच्ने कुनै कार्यक्रम छैनन्,’ उहाँले भन्नु भयो , ‘जंगल छेउको बस्तीका सबै त्रसित छन् ।’

निकुञ्ज प्रशासनले समेत कुनै ध्यान नदिएको उनको गुनासो छ । नेपालसँग सीमा जोडिएको भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष र बर्दिया निकुञ्जबाट बाघ बर्दियाका अन्य सामुदायिक जंगलमा पनि पस्ने गरेको छ । जिल्ला वन अधिकृत महेन्द्र वाग्लेले बाघको आक्रमण बढ्दै गएपछि क्यामेरा ट्र्यापिङ गर्दै बस्तीमा सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको दाबी गर्नु भयो  ।

‘बस्तीमा सुरक्षित हुन र जंगल क्षेत्रमा प्रवेश नगर्न आग्रह गरेका छौं,’ उहाँले भन्नु भयो , ‘तर, अटेर गरेर जाँदा ज्यान नै जाने गरेको छ ।’ बाघ पानी खोज्दै निकुञ्जबाहिरको बस्तीमा निस्कने गरेको उहाँले बताउनु भयो  । कर्णाली नदीको पूर्वी भँगालो ढुंगाले थुनिएपछि पानीको सतह घटेका कारण वन्यजन्तु बाहिर निस्कन थालेको संरक्षणकर्मीको दाबी छ ।

बाघ लजालु स्वभावको वन्यजन्तु हो । सामान्य अवस्थामा बाघले मानिसलाई आक्रमण गर्दैन । राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख डा। रविन कडरिया बाघले आत्मरक्षाका लागि आक्रमण गर्नुअघि घुरेको जस्तो आवाज गरी चेतावनी दिने बताउँछन् । ‘बाघसँग बच्चा भएमा, सिकार गर्न लागेको अवस्थामा, मानिस खाने नरभक्षी बानी परेको भएमा पनि मानिसलाई आक्रमण गर्छ,’ उहाँले भन्नु भयो , ‘आहारा प्रजाति वा बासस्थान कम भएमा र बासस्थानमा मानिसको गतिविधि बढेमा पनि बाघले आक्रमण गर्छ ।’

वयस्क बाघले बूढो बाघलाई लखेटेर बाहिर पठाउँदै उक्त क्षेत्र कब्जा गर्ने गरेको र कुनै बाघ आपसमा जुधेर नङ्ग्रा भाँचिएपछि सजिलो आहारा मानिसलाई रोजेर मार्ने गरेको २४ वर्षदेखि बर्दिया निकुञ्जमा काम गरेका पूर्वप्रमुख संरक्षण अधिकृत रमेश थापाले बताउनु भयो  । बर्दिया निकुञ्ज क्षेत्रमा संरक्षणका लागि खटिएका युवा संरक्षणकर्मी हेमन्त आचार्यले जंगलको सिमानामा गाई, भैंसी बाँध्नु, जंगलमा खुला चरीचरण बढ्दै जानुले पनि बाघले आक्रमण गर्ने गरेको बताउनु भयो  ।

बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले वन क्षेत्रमा घाँसदाउरा लिन नजान सबैमा आग्रह गरेको बताउनु भयो  । ‘स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेर जंगल र निकुञ्जभित्र जान रोक लगाउने तयारी गर्दैछौं,’ उहाँले भन्नु भयो, ‘वनभित्र नरभक्षी बाघको आक्रमण बढ्दै गएकाले सबै सचेत बन्नुपर्छ ।

एउटा वयस्क बाघलाई वार्षिक झन्डै ५०र६० वटासम्म वयस्क चित्तलको आवश्यकता हुन्छ । बर्दिया निकुञ्जमा बाघका लागि आहारा प्रशस्त छ । चारकोसे जंगल विनाश, अतिक्रमित क्षेत्रमा मानव बस्ती र कृषि भूमि बढ्दै जाँदा बाघको विचरण क्षेत्र भने खुम्चिएको छ । आफ्नो क्षेत्र अतिक्रमणमा परेपछि बाघ निकुञ्जबाहिर आउने गरेको संरक्षणकर्मीकै दाबी छ । ‘बाहिर आएपछि ऊ अत्तालिन्छ र मानिसलाई नै आक्रमण गर्छ,’ संरक्षणकर्मी आचार्यले भन्नु भयो  ।

सन् २०१८ मा बर्दिया निकुञ्जमा गणना गर्दा ८७ वटा वयस्क बाघ थिए । पछिल्लो पटक यसको संख्या १ सय २५ नाघेको अनुमान निकुञ्जको छ । त्यस समय डमरु(बाघका बच्चा)को गणना गरिएको थिएन । निकुञ्जले गरेको अध्ययनमा पछिल्लो पटक झन्डै एक दर्जन नयाँ बाघ फेला परेको देखिएको छ । डमरु हुर्केर वयस्क बनेका कारण बाघको संख्या बढेको हो । निकुञ्जको कर्णाली तटीय क्षेत्र बाघको प्रमुख बासस्थान छ ।आजको कान्तिपुर दैनिकबाट

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu