बेनी अस्पतालमा मेडिकल अक्सिजन उत्पादन
म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी अस्पतालमा हावालाई प्रशोधन गरी मेडिकल अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ। अस्पताल परिसरमा मेडिकल अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गर्न थालिएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालका ३० वटै शय्यामा अक्सिजन पाइप जडान गरिएको जानकारी दिए। उनका अनुसार प्रदेश सरकार, संघीय सरसकारको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम, रघुगंगा गाउँपालिका र बेनी अस्पतालको स्रोतबाट एक करोड रुपैयाँको लागतमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको हो।
केन्द्रमा उत्पादन भएको अक्सिजन सिधै बिरामीको बेडसम्म पुग्ने व्यवस्था मिलाइए छ। आकस्मिक, मिर्गौला डायलासिस, सघन उपचारकक्ष (आइसियु) र बहिरङ्ग विभागका शय्यामा अक्सिजन आपूर्ति गराउन पाइपलाइन जडान भएको छ। पाइपबाट शय्यामै अक्सिजन आपूर्ति हुन थालेपछि श्वासप्रश्वास, आइसियुमा राख्नुपर्ने, दम र शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको अस्पतालका प्रमुख डा.जितेन्द्र कँडेलले बताउनु भयो । अस्पतालमै अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न पोखरा जाने समय र खर्चको बचत भएको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा उपलब्ध गराएको १० लाख रुपैयाँ बजेटले प्लान्टबाट अस्पतालको शय्यामै अक्सिजन पुर्याउन पाइपलाइन जडान गरिएको हो। प्लान्टले एक दिनमा १५ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहे पनि अहिले १० वटा सिलिन्डर भरिँदै आइएको प्रमुख डा। कँडेलले बताउनु भयो । अस्पतालमा अहिले दैनिक २० देखि २५ श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी आउँछन्।
एकपटकमा तीनवटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ। अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न ६३ लाख रुपैयाँ खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताउनु भयो । कटुवालका अनुसार सामाजिक विकास मन्त्रालयले गत आवमा ७५ लाख रुपैयाँ बजेट पठाएकामा प्रतिस्पर्धामार्फत ४३ लाख रुपैयाँमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको हो। स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगङ्गा गाउँपालिकाले दिएको १४ लाख र अस्पतालको एक लाख ४० हजार रुपैयाँमा सिलिण्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर प्लान्ट सञ्चालनमा ल्याइएको छ।