एमालेलाई एक बनाउन ओलीकाे भूमिका हुनुपर्छ
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेकाे माधव नेपाल समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेकपा एमालेकाे माधव समूहले ललितपुरको सानेपामा राष्ट्रिय भेला गरिरहेको छ । राष्ट्रिय भेलामा देशभरबाट नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ । भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेकपा एमालेका नेता भीम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई बलियाे बनाउने उद्देश्यका साथ राष्ट्रिय भेला गरिएको बताउनुभयो । भेलाले कम्युनिस्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओलीलगायत आम नेता, कार्यकर्तालाई आह्वान गर्ने उहाँको भनाइ छ । वामपन्थी आन्दोलनलाई एकीकृत गर्ने कुरामा आफूहरूको जोड रहेको पनि उहाँले बताउनुभयो ।
नेकपा एमालेका नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनुपर्ने बताउनुभयो । नेतृत्वले अझै अरू गल्ती गर्ने सम्भावना भएकाले दबाबका लागि भेला राखिएको उहाँको भनाइ छ ।
नेकपा एमालेका नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफूहरूसहितको अर्को बैठक बोलाउनुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमालेकी नेतृ समिना हुसेनले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गलत नियतका साथ बिहीवारको संसदीय दलको बैठक राखेको बताउनुभयो । नेकपा एमालेलाई एकताबद्ध बनाउन ओलीको भूमिका हुनुपर्ने उहाँको भनाइ छ ।
नेकपा एमालेका नेता मोहनचन्द्र अधिकारीले केपी शर्मा ओलीले वर्गीय दृष्टिकोण छाडेको आरोप लगाउनुभयो । ओली गुट परस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने गरेको उहाँको भनाइ छ । नेता अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफूहरू पनि गल्ती सच्याउन तयार रहेको बताउनुभयो ।