जंगली अर्किडको संरक्षण गर्नुपर्नेमा सरोकारवालाको जोड
काठमाडौं- जंगली अर्किडको अवैध व्यापारका कारण कतिपय प्रजातिका बहुमुल्य अर्किड लोप हुँदै गएको भन्दै यसको संरक्षणका लागि बलियो नीति नियम बन्नुपर्नेमा सरोकारबालाले जोड दिनुभयो ।
जंगली अर्किडको अवैध व्यापार र दीगो प्रयोगको बारेमा सरोकारवाला निकायहरुबीच भएको छलफलमा उनीहरुले यसको संरक्षणका लागि बलियो नीति नियम बन्नुपर्नेमा जोड दिनुभएको हो।
प्रा.डा. बिजया पन्तले उद्योगसँग अध्ययनलाई जोड्न नसकेको कारण अर्किड व्यवसायलाई व्यवसायीकरण गर्न नसकिएको बताउनुभयो ।औषधिको रुपमा प्रयोग हुने बहुमुल्य जंगली अर्किडको व्यापार र संरक्षणलाई व्यवस्थित बनाउन सके यसबाट धेरै फाइदा लिन सकिने भए पनि नीति नियम कमजोर भएको कारण नसकिएको बन तथा वातावरण मन्त्रालयका उपसचिव बलराम पौड्यालले बताउनुभयो ।
नेपाल र मेक्सिकोका स्थानीय समुदायहरुले जंगली अर्किडहरुको व्यवसायीक संरक्षण गरिरहेको छ । नेपालमा पाइने ५ सय प्रजातीका अर्किड संरक्षणका लागि सरोकारवाला सबै जुट्नुपर्ने उनीहरुले बताउनुभयो ।
ग्रीनहुड नेपालले आयोजना गरेको कार्यक्रममा अर्किड संरक्षण तथा प्रयोगका लागि नीति नियम कमजोर भएका कारण समस्या भइरहेको सरोकारवालाहरुले बताउनुभयो ।