Connect with us
Kapilvast Forest

पूर्वीनाकामा भारतीयको अनावश्यक आगमनमा रोक

२०७८, १५ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं – नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ को सङ्क्रमण अत्यधिक बढिरहेको हुँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै पूर्वको प्रमुख स्थलनाका काँकडभिट्टामा मङ्गलबारदेखि भारतीय नागरिकको अनावश्यक प्रवेशलाई रोकिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो ।

पछिल्लो समय दैनिक ७०० भन्दा बढी पूर्वीनाकामार्फत नेपाल प्रवेश गर्ने र एक हजारको हाराहारीमा नेपालबाट भारत जाने गरेका छन् । मङ्गलबार भारतबाट ६२३ नेपाली स्वदेश फर्केका छन् भने अतिआवश्यक कामका लागि पिसिआर रिपोर्टसहित २६ भारतीय नागरिकसमेत नेपाल आएको उहाँले बताउनुभयो । अतिआवश्यक कामबाहेक नेपाल आउन चाहने भारतीय नागरिकलाई नाकामै रोकेका छौँ”, थापाले नाकामा गरिएको थप कडाइबारे जानकारी दिँदै भन्नुभयो, “भारतमा कोरोना भाइरसको सङ्क्रमणदर बढेको हुँदा बाध्य भएर नेपालको हितमा यस्तो कदम चाल्नुपरेको हो ।”

भारतमा बसेर रोजगारी गर्ने, काम विशेषले भ्रमण गर्ने र अध्ययनका लागि गएका नेपाली भने धमाधम नेपाल फर्किरहेका छन् । सीमामा उनीहरुलाई पिसिआर रिपोर्ट हेरेर नेपाल भित्रिन दिइएको छ । नेपालमा बसेर काम गरिरहेका मजदुरको ठूलो सङ्ख्या हाल भारत फर्किरहेको छ । उनीहरूलाई परिचयपत्रका आधारमा भारत जान दिइएको छ ।

सीमावर्ती शहरमा आँखाको उपचार गर्न र ज्यालादारी काम गर्न दैनिक सयौँको सङ्ख्यामा भारतीय नागरिक नेपाल आउने गरेका छन् । सीमामा होल्डिङ सेन्टरको व्यवस्थापन नभइसकेको र जाँचसमेत भरपर्दो नभएको अवस्थामा भारतीय नागरिकको खुलाजस्तै आगमनले कोभिड–१९ को सङ्क्रमण फैलिने त्रास डर थियो तर अब आगमनमा रोक लगाइएपछि त्रास न्यूनीकरण भएको छ ।

गौरीगञ्जको वडामा बन्दाबन्दी

यसैबीच झापाको दक्षिणी गाउँपालिका गौरीगञ्जको वडा नं १ मा सात जनामा एकैचोटी कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि बन्दाबन्दी गरिएको छ । सो वडा भारतको विहारसँग सीमा जोडिएको छ । गाउँपालिकाका उपाध्यक्ष दीपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले सो वडामा वैशाख २० गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो । बन्दाबन्दीमा अतिआवश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । हाटबजार, यातायात, कलकारखानालगायत सर्वसाधारणको आवतजावतमा समेत रोक लगाइएको छ ।

भारतमा तीर्थयात्रा गरेर फर्किएका सात जनामा हालै कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायस्तरमा सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्काले बन्दबन्दी गर्नुपरेको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनुभयो ।

मेचीनगरमा उच्च सतर्कता

नाकाबाट हुने आवतजावतबाट कोभिड–१९ को सङ्क्रमण नफैलियोस् भनेर मेचीनगर नगरपालिकाले उच्च सतर्कता अपनाउँदै सरोकारवाला सङ्घसंस्थासँग मिलेर विभिन्न रोकथामका प्रयास थालेको छ । नगरका प्रमुख विमल आचार्यले यातायात व्यवसायी, मजदुर सङ्घसङ्गठन, वित्तीय संस्था र व्यवसायीसँग मङ्गलबार यस विषयमा छलफल गर्नुभयो । छलफलमा सरोकारवाला संस्थाका प्रतिनिधिले नाकामा थप कडाइ गर्न, होल्डिङ सेन्टर व्यवस्थित गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाको अनुगमन गर्न सुझाव दिएका थिए ।

काँकडभिट्टा मुलुकका विभिन्न भागसम्म यातायात सञ्चालन गर्दै आएको प्रस्थान विन्दु भएको हुँदा यहाँ हुने सानो कमजोरीले मुलुकभरि सङ्क्रमण फैलिने जोखिमलाई कसैले पनि नजरअन्दाज गर्न नहुने सहभागीहरुको धारणा थियो । सार्वजनिक यातायात सञ्चालन गर्दा यात्रु र कर्मचारी दुवै पक्षले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने नगरप्रमुख आचार्यको आग्रह थियो । सामाजिक दूरी कायम नगर्ने र मापदण्ड पालना नगर्ने यात्रुलाई सेवा नदिनसमेत सुझाव दिइएको छ ।

भारतसँग सीमा जोडिएको प्रमुख नाका काँकडभिट्टामा थप कडाइ गरिए तापनि नाकाभन्दा उत्तर र दक्षिणतर्फका गौडाहरूबाट सुरक्षाकर्मीको आँखा छलेर निर्वाध आवतजावत चलिरहेको छ । खासगरी अवैध धन्धामा संलग्न साना व्यवसायी र भारतीय नागरिकको ओहोरदोहोर त्यस्ता गौडाहरुबाट हुने गरेको छ । नकलबन्दा, तिरिङ, ज्यामिरगढी, महेशपुर, केचना, गौरीगञ्जलगायतका गौडामा बढ्दो अवैध आवागमनलाई रोक्न आवश्यक देखिएको छ ।

गत वर्ष भारतसँगको सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्थायी चौकी निर्माण गरेर कडा सुरक्षा व्यवस्था मिलाइएको तर यसपालि सीमामा त्यस्तो बाक्लो सुरक्षाको प्रबन्ध छैन । सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकीमा मात्र सुरक्षाकर्मी तैनाथ छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu