Connect with us
Kapilvast Forest

वीरगञ्ज र हेटौंडामा पनि अक्सिजन बैंक स्थापना: गंगालाल र प्रहरी अस्पतालमा उत्पादन सुरु

२०७८, २२ बैशाख बुधबारमा प्रकाशित

तस्विर बुटवल उपमहानगरपालिकाले स्थापना गरेको अक्सिजन बैंक

काठमाडौं– अक्सिजन अभावले कोरोना संक्रमित बिरामीको उपचारमा समस्या नहोस् भनेर अक्सिजन उत्पादन बढाउने क्रम सुरु भएको छ । केन्द्र, प्रदेश र पालिका सरकारसँगै नीजि क्षेत्रसमेत यो काममा सक्रिय भएर लागेका छन् । बुटवल, वीरगञ्ज, हेटौंडा लगायतका ठाउँमा अक्सिजन बैंक स्थापना भैसकेको छ । अरु ठाउँमा पनि अक्सिजन उत्पादन गर्ने तयारी भैरहेको छ ।

बुटवल उपमहानगरपालिकाले मंगलबार अक्सिजन बैंक स्थापना गरेको छ । बैंकमा अक्सिजनसहितका सिलिण्डरको संग्रह हुने तथा अत्यावश्यक अवस्थामा अक्सिजन उपलब्ध हुने उपमहानगरपालिकाले जनाएको छ । उप-महानगरपालिकाका मेयर शिवराज सुवेदीका अनुसार होम आइसोलेशन, होटल आइसोलेशन तथा उपमहानगरको संस्थागत आइसोलेशनमा बसेका काेराेना सङ्क्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अक्सिजन पुर्‍याउने छन् । अक्सिजनको अभावले कसैको उपचार नरोकिने उहाँले बताउनुभएको छ ।

अक्सिजन बैंकमा एम्बुलेन्स, पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ ।

हेटौंडामा पनि अक्सिजन बैंक
हेटौंडामा जटिल श्वासप्रश्वाससम्बन्धी समस्या हुने कोरोना संक्रमितको उपचारका लागि अक्सिजन बैंक स्थापना गरिएको छ । मकवानपुरमा क्रियाशील लायन्स क्लबहरूको संयुक्त प्रयासमा अक्सिजन बैंक स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय परिसरमा स्थापना गरिएको अक्सिजन बैंकमा ३० सिलिण्डर अक्सिजन तयारी अवस्थामा राखिएको छ ।

कोरोना संक्रमित भइ अक्सिजनको व्यवस्थापन गर्न नसक्ने व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले अक्सिजन बैंकको स्थापना गरिएको हो । लायन्स क्लबका पदाधिकारी तथा सदस्यको आर्थिक सहयोगमा १० किलो तौलका ३० सिलिण्डर अक्सिजन तयार पारिएको अक्सिजन बैंक व्यवस्थापन उपसमितिका संयोजक राजेश वाग्लेले जानकारी दिनुभयो । लायन्स क्लबले जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वय, जिल्ला प्रहरी कार्यालय तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बी २ सँगको सहकार्यमा अक्सिजन बैंक सञ्चालनमा ल्याएको हो । अक्सिजन आवश्यक पर्ने बिरामीको आफन्तले डाक्टरको सिफारिस तथा सम्बन्धित वडाध्यक्षको पनि मौखिक सिफारिसमा जिल्ला प्रहरी कार्यालयबाटै अक्सिजन वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

वीरगञ्जमा निःशुल्क अक्सिजन बैंक
वीरगञ्ज महानगपालिका र लायन्स क्लबको साझेदारीमा वीरगञ्जमा निःशुल्क अक्सिजन बैंक स्थापना भएको छ । ४७ देखि ५५ लिटरसम्मका अक्सिजन सिलिण्डर वीरगञ्ज महानगरपालिका भित्रका कोरोना लागेका बिरामीलाई नि:शुल्क वितरण गर्ने गरिएको महानगरपालिकाले जनाएको छ । डाक्टरले कोरोना संक्रमण भइ अक्सिजन प्रयोग गर्न पर्ने भनि सिफारिस गरेकाहरुलाई नागरिताको फोटोकपी पेस गरेपछि निःशुल्क अक्सिजन उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

प्रहरी अस्पतालमा अक्सिजन उत्पादन शुरु
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा अक्सिजन उत्पादन सुरु भएको छ । अस्पतालले दैनिक १४० सिलिण्डर उत्पादन क्षमताको प्रणाली सञ्चालनमा ल्याएको छ । प्रतिसिलिण्डर ४६ लिटर अक्सिजन क्षमता रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा खपत हुनेभन्दा बढी अक्सिजन उत्पादन हुने भएकाले महामारीको समयमा अरु क्षेत्रमा माग अनुसार अक्सिजन वितरण हुनेछ ।

गंगालाल अस्पतालमा अक्सिजन उत्पादन सुरु
काठमाण्डौ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट पनि अक्सिजन उत्पादन सुरु गरिएको छ । महानगरपालिकाले उपलब्ध गराएको करिब दुई करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो ।

यो प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने छ । यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ । मुटुको समस्या भएर केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरपालिकाले प्लान्ट स्थापना गरिदिएको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu