कांग्रेस सभापति देउवाद्वारा पदाधिकारी बैठक आवहान
काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाउनुभएको छ । सभापति देउवाले आज अपराह्न ४ बजे पदाधिकारी बैठक बोलाएको कांग्रेस सहमहामन्त्री सुनील थापाले बताउनुभयो । बिहीबार बिहान जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफलपछि देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो ।
देउवा निवास बूढानीलकण्ठमा बस्ने पदाधिकारी बैठकमा पूर्वपदाधिकारीलाई पनि बोलाइएको छ। बैठकमा सरकार गठनका विषयमा छलफल हुने जनाइएको छ।
बिहीबार बिहान देउवालाई भेट्न ठाकुर र महतो बूढानीलकण्ठ पुगेका थिए। उनीहरूबीच नयाँ सरकार गठनका विषयमा छलफल भएको जनाइएको छ।
नेकपा ९माओवादी केन्द्र०ले कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि समर्थन गर्ने जनाएको छ भने जसपा दुई धारमा विभाजित छ। अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराई देउवाको समर्थनमा छन् भने ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै समर्थन गर्ने पक्षमा छन्। मिलीजुली सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय आज राति ९ बजे सकिँदै छ।