वीर र शिक्षण अस्पतालमा ४७० बेड अलपत्र, सामाजिक संस्थाले बनाएको आइसोलेसन केन्द्रमा रिबन काट्न पुगे उपप्रधानमन्त्री
काठमाडौं । कोभिडविरुद्ध दुनियाँले संघर्ष थालेको १७ महिना भयो, नेपालले पनि तयारी थालेको १५ महिना भयो । कोभिड शीर्षकमा गत वर्ष १२ अर्ब खर्च गरेको सरकारले यो वर्षको बजेटमा पनि ६ अर्ब विनियोजन गरेको छ ।
पर्याप्त समय र स्रोत भएर पनि तयारीमा सरकार कति संवेदनशील थियो भन्ने बुधबारको एउटा तस्बिरले प्रस्ट पार्छ ।राज्यको ढुकुटीको दुई अर्ब २६ करोड खर्च गरेर वीर अस्पतालमा ६ सय ५० बेडको अत्याधुनिक सर्जिकल भवन बनेको छ ।
शिक्षण अस्पतालमा पनि सुरेश वाग्ले स्मृति क्यान्सर भवनको नाममा दुई सय बेड क्षमताको अत्याधुनिक पूर्वाधार खडा भएको छ ।वीरको नयाँ भवनमा दुई सय ७० र शिक्षणमा दुई सय बेड तत्कालै सञ्चालन गर्न सकिने भनेर स्वास्थ्य मन्त्रालयले प्रतिवेदनसमेत दिएको छ ।
बिरामीलाई भुइँमा राखेर उपचार गर्न बाध्य चिकित्सकहरूले पनि यी बेड सञ्चालन गर्न र त्यसका लागि अक्सिजन व्यवस्था गर्न सरकारलाई पटक–पटक अनुरोध गर्दै आएका छन् ।
तर, सरकारी पूर्वाधार अलपत्र नै राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेलले बुधबार मारवाडी समाजले स्वतस्फुर्त तयार पारेको ५१ बेडको आइसोलेसन केन्द्र उद्घाटन गरेका छन् ।स्मरणीय छ, कोभिड संकट व्यवस्थापन केन्द्रको संयोजक पोखरेल नै हुन् ।
दुई अर्ब २६ करोडमा वीरमा ६५० बेडको सर्जिकल भवन बनेको छ । त्यस्तै, शिक्षणमा पनि आठ तलाको क्यान्सर भवन बनेको छ । वीरमा तत्काल २७० र शिक्षण दुई सय बेड सञ्चालन गर्न सकिने भए पनि सरकारले ध्यान दिएको छैन ।-नयाँ पत्रिका