इतिहास रचेँ, प्रदेश र स्थानीय तहको आवाज उठाउँछु: देवकोटा
काठमाडौं – राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा विजयी डा। खिमलाल देवकोटाले राजनीतिक दलको समर्थनमा स्वतन्त्र नागरिकले निर्वाचन जितेर इतिहास रचेको बताउनु भएको छ ।
विजयी भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले भने ‘हामीले इतिहास रचेका छौं, किनभने स्वतन्त्र नागरिकलाई मेजर पोलिटिकल पार्टीले सपोर्ट गरेर चुनावमा उठाउनु भनेको नेपालको पहिलो अनुभव होला, सांसरमा पनि सायद पाइदैन ।’
उहाँले यो जित आफ्नो मात्र नभई स्वतन्त्र नागरिकको जित भएको बताउनु भएको छ । ‘यो मेरो मात्र विजय होइन, स्वतन्त्र रुपमा कलम चलाउने, बहस गर्नेहरुको पनि जित हो’ डा। देवकोटाले भन्नु भयो ।
वाग्मती प्रदेशमा बिहीबार भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा डा। देवकोटाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई पराजित गर्नु भएको छ ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको समर्थन थियो ।राष्ट्रियसभा विज्ञहरुको थलो हो भन्दै देवकोटाले अब त्यहाँ प्रदेश र स्थानीय तहको पक्षमा आवाज उठाउने बताउनु भयो । ‘संघीय राज्यहरुको अभ्यास हेर्ने हो भने अपर हाउस हो भनेको सब नेसशनल गभर्मेन्टको आवाज बोल्ने थलो हो’ उहाँले भन्नु भयो ,‘निर्वाचित जनप्रतिनिधि जसले निर्वाचित गरेको हो त्यसप्रति जवाफदेही हुने हो । विगतमा त्यो जवाफदेहीता पाएनौं, म निर्वाह गर्छु ।’