विप्लव समूह फेरि द्वन्द्वको बाटोमा जाँदैन भन्ने विश्वास छ : प्रधानसेनापति थापा
काठमाडौं-प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह भविष्यमा फेरि द्वन्द्वको बाटोतिर नजाने सेनाको विश्वास रहेको बताउनु भएको छ । कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा पत्रकारहरुसँग कुरा गर्दै थापाले सरकार र विप्लव समूहबीच भएको वार्ताले मूर्तरुप लिने पनि विश्वास व्यक्त गर्नु भयो ।
‘सरकारले वार्ताको वातावरण सिर्जना गरेपछि अहिले समूहले राजनीतिक धारमा आउने सम्भावना देखाएको छ,’ थापाले भन्नु भयो ‘विश्वास गरौं, यसले मूर्तरुप लिनेछ र नेपाली समाजलाई भविष्यमा द्वन्द्वको श्रृंखलामा अगाडि लैजानका लागि अगाडि बढ्ने छैन ।’
थापाले नेपाली जनताको चाहना र मुलुकको आवश्यकता पनि द्वन्द्व नभएको बताउनु भएको छ । ‘त्यसकारणले कुनै पक्ष समाजमा गएर द्वन्द्व सिर्जना गर्छ, विखण्डन सिर्जना गर्छ भने त्यसलाई सेना, सम्पूर्ण सुरक्षा निकाय र राष्ट्रले पराजित गर्नेछ,’ उहाँले थप्नु भयो , ‘राष्ट्रका सबै निकाय ‘होल अफ द नेसन’ अप्रोचमा गए ती प्रवृत्तिलाई स्वतः सामना गर्न सकिन्छ ।’पूर्खाले नेपाल जोगाएको इतिहासलाई स्मरण गराउँदै उहाँले भविष्यमा पनि सेनाले सबै निकायको साथ लिएर राष्ट्रको रक्षा गर्ने बताउनु भयो ।