रोनाल्डोको रेकर्डमाथि रेकर्डमा पोर्चुगलले हंगेरीलाई हरायो
एजेन्सी- डिफेन्डिंग च्याम्पियन पोर्चुगलले युरो २०२० फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सानदार सुरुवात गरेको हो । पुस्कास एरिनामा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने राफायल गुइरेरोले १ गोल गरे ।
हंगेरीविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले युरोकपमा ११ गोल गर्दै कीर्तिमान बनाएका हुन् ।
रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडेका हुन् । ३६ वर्षीय रोनाल्डोले पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाएका छन् । यस्तै उनी लगातार पाँच संस्करणमा गोल गर्ने खेलाडी समेत बनेका छन् ।