Connect with us
Kapilvast Forest

कोरोनायता दुई सयभन्दा बढी इँटा उद्योग बन्द

२०७८, ७ असार सोमबारमा प्रकाशित

काठमाडौं -कोरोना महामारीले निजी तथा सरकारी निर्माण कार्य प्रभावित बनेपछि देशभरका दुई सयभन्दा बढी इँटा उद्योग बन्द भएका छन्।पहिलो लकडाउनमा बन्द भएका चार सय इँटा उद्योगमध्ये दुई सय उद्योग अहिलेसम्म सञ्चालनमा नआएको नेपाल इँटा व्यवसायी महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारले जानकारी दिए। उनका अनुसार बन्द भएका अधिकांश उद्योग फेरि सञ्चालनमा नआउने सम्भावना धेरै छ।

‘पोहोर सिजन बाँकी हुँदै लकडाउन भयो। त्यसपछि बर्खा लागेर बन्द भएका भट्टा हिउँदमा खुलेनन्,’ चित्रकारले भने, ‘भारतबाट कामदार ल्याउन समस्या भयो। अलिअलि खुलेका थिए, यसपालि पनि सिजन छँदै बन्द भयो। फेरि व्यवसायमा फर्किन गाह्रो छ।’

बजारमा निर्माण काम कम भएकाले स्टकमा रहेको इँटाले समेत बजार नपाएको चित्रकारले बताए। कोरोनाले पारेको चौतर्फी समस्याले मान्छेहरूले नयाँ घर बनाउने, तला थप्ने योजना स्थगित गरेको र निर्माण सामग्रीको माग घटेको उनको भनाइ छ। बजार टिकाउन व्यवसायीले घाटामा व्यापार गरिरहेको पनि उनले बताए।

‘माग नहुँदा मूल्य कम गरेर पनि प्रतिस्पर्धी बजारमा टिकिरहनुपर्ने बाध्यता व्यवसायीलाई पर्‍यो। अहिले पनि अवस्था त्यस्तै छ। आगामी हिउँदसम्म कति इँटा उद्योग खुल्ने वा बन्द हुन्छन् भन्ने कुरा बजारमा हुने निर्माण र मागको आधारमा तय हुन्छ,’ अध्यक्ष चित्रकारले भने।

महासंघको तथ्यांक अनुसार कोरोना अघिसम्म देशभर १२ सय इँटा उद्योग सञ्चालन भइरहेका थिए। पहिलो लहरको महामारीले चार सय हाराहारी इँटा उद्योग बन्द गराएको थियो। जसमेध्ये दुई सय बढी उद्योग अहिलेसम्म बन्द नै छन्।

महासंघसम्म तथ्यांक नआइपुग्दा अझै कति इँटा भट्टा बन्द भएका छन् वा बन्द हुने अवस्थामा पुगेका छन् जानकारी लिन नपाएको अध्यक्ष चित्रकार बताउँछन्।

‘दुई सय उद्योग पूर्ण रूपमा बन्द भएका छन्। कार्यालय नखुल्दा महासंघमा तथ्यांक आएकै छैन,’ उनले भने, ‘भक्तपुरकै कुरा गर्दा अधिकांश भट्टा गत वर्षदेखि सञ्चालनमा आएनन्। अब फेरि लगानी थपेर सुरू गर्ने वा यो व्यवसायबाट पलायन हुने भनेर दोधारको स्थितिमा धेरै उद्योगी छन्।’

निर्माण क्षेत्रका उद्योग सानो लगानीले सञ्चालन गर्न सकिँदैन। एउटा भट्टा सञ्चालन गर्न कम्तीमा दुई करोड लगानी आवश्यक पर्ने चित्रकार बताउँछन्। नेपालमा १५ करोडसम्म लगानीमा भट्टा खोलिएका छन्। तर यतिबेला स्टक कटाउन र बैंकको किस्ता तिर्न व्यवसायीलाई गाह्रो छ।

सरकारबाट कुनै साथ सहयोग नपाएको बताउँदै चित्रकारले भने, ‘बैंकहरूले पनि साथ दिएका छैनन्। जग्गा बेचेरै भए पनि किस्ता, कामदार र कोइलाको रकम तिरेर ऋणमुक्त हुन व्यवसायी बाध्य छन्।’

व्यवसाय नै धरापमा परेको जान्दाजान्दै पुँजी थपेर व्यापार चलाउने सम्भावना कम भएको उनी बताउँछन्। बजार माग नभएको र नयाँ उत्पादन गर्न नपाउँदा अहिलेको समयमा रकम परिचालन नै मुख्य समस्या भएको उनको भनाइ छ।

‘आफूले जाने–बुझेको, गरिरहेको व्यवसाय छाडेर अर्को पेसा अँगाल्न व्यवसायीलाई गाह्रो छ। बाध्यताले पनि धेरैजसो यही व्यापारमा अल्झिरहेको देखिन्छ,’ उनले भने, ‘भक्तपुरका अधिकांश भट्टा यसपालि सञ्चालनमा आएनन्। आउँदो हिउँदसम्म यस्तै अलमलको स्थिति भए बन्द हुने भट्टाको संख्या देशैभर बढ्छ।’

नेपालमा वार्षिक तीन अर्बवटा इँटा उत्पादन हुने महासंघको तथ्यांक छ। अन्य ठाउँको तुलनामा तराइ भेगमा उत्पादन हुने इँटा उच्च गुणस्तरको मानिन्छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu