घर भत्केर मृत्यु भएका परिवारलाई राहत वितरण
दाङ्ग- अविरल वर्षाका कारण घर भत्केर मृत्यु भएकी बालिकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय दाङ र घोराही उप-महानगरपालिकाले राहत प्रदान गरेको छ ।
घोराही उपमहानगरपालिका–१७ क्वाडीस्थित घर भत्किँदा बिहीबार तीन महिनाकी बालिका विन्दु चौधरीको निधन भएको थियो । घटनामा आमा र दिदी घाइते भएका छन् ।
मृतकका बुबा आशाराम चौधरीलाई घोराही उप-महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट रु दुई लाख र उपमहानगरपालिकाको तर्फबाट किरिया खर्च रु २५ हजार गरी रु दुई लाख २५ हजार प्रदान गर्नुभएको थियो ।
राहत दिन प्रजिअ रामबहादुर लिम्बू कुरुम्बाङ, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्ले र नगर प्रमुख चौधरी पीडितको घरमै पुग्नुभएको थियो ।