यादव समूहले आठ मन्त्री मागेपछि प्रधानमन्त्री देउवा तनावमा
काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुन जनता समाजवादी पार्टी ९जसपा०को उपेन्द्र यादव पक्षले आठ जना मन्त्री मागेको छ । जसमध्ये सात जना मन्त्री र एक जना राज्यमन्त्री माग गरेका छन् ।
जसपा नेता मोहम्मद इस्तियाक राईका अनुसार शनिबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा यही मागसहित अगाडि बढ्ने समझदारी भएको हो ।
साथै संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा आउनुपर्ने उसले अडान राखेको छ ।
दुई खेमामा विभाजित जसपाको यादव पक्षको शनिबार बसेको संसदीय दलको बैठकमा बहुमत सांसद उपस्थित भएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना र १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा जाँदा उपेन्द्र यादव पक्षमा जसपाका १२ सांसद मात्र थिए ।