लुम्बिनीमा विश्व स्वास्थ्य सङ्गठनको ‘हिँड्दै कुरा गर’ अभियान
रुपन्देही -विश्व स्वास्थ्य सङ्गठनले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीबाट डा।राजेश समबाजीराव पाण्डवले ‘हिँड्दै कुरा गर’ वाक द टक अभियान थालेको छ । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा।राजेशको नेतृत्वमा यसवर्ष आज बिहान बुद्ध जन्मस्थल लुम्बिनीबाट अभियानको शुरुआत गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले आफ्नो ७० औँ वार्षिकोत्सवका अवसरमा सन् २०१८ देखि वाक द टक अभियान चलाउँदै आएको छ । अभियानको शुरुआतका क्रममा डा।राजेशले विश्वभरि नै कोभिडको महामारीले जनमानसको स्वास्थ्यमा थप चुनौती पैदा भएको अवस्थामा वाक द टक कार्यक्रमको महत्व झनै बढेको बताउनुभयो ।
उहाँले विश्वभर यसको सन्देश प्रवाह गर्न यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीबाट अभियान थालिएको जानकारी दिनुभयो । उहाँले हरेक मानिसले आफ्नो स्वास्थ्य मुख्य प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै यसका लागि हरेकले हिँड्दै कुरा गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो , “हिँड्दै कुरा गर्ने बानी बसाल्न सकिए शरीरका अङ्गहरु स्वस्थ्य राख्न सकिन्छ र मानसिक तनाव पनि कम गर्न सहयोग पुग्छ ।” वाक द टक अभियानमा सहभागी भएका लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले विश्व स्वास्थ्य सङ्गठनले यो अभियान पहिलोपटक लुम्बिनीमा आयोजना गरेर विश्वभरि सकारात्मक सन्देश पुग्ने विश्वास व्यक्त गनुृ भयो । उहाँले विश्व स्वास्थ्य सङ्गठनले कोभिड महामारी नियन्त्रणका लागि नेपालमा निकै प्रभावकारी ढङ्गले काम गरेको जनाउँदै यो अभियानले आम मानिसमा स्वास्थ्यका लागि हिँडाइ पनि महत्वपूर्ण हुने सन्देश दिने भएकाले अभियानलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।
त्यस अवसरमा लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्राडा हृदयरत्न बज्राचार्य, लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। विकास देवकोटा, स्वास्थ्य मन्त्रालयका निर्देशक महेन्द्र श्रेष्ठ, विश्व स्वास्थ्य सङ्गठनका विभिन्न तहका कर्मचारी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीलगायतको सहभागीता रहेको थियो ।
नियमित शारीरिक व्यायाम, स्वस्थ खाना, पर्याप्त निद्रा र मदिरारहित जीवन यो अभियानको मुख्य उद्देश्य रहेको विश्व स्वास्थ्य सङ्गठन नेपालका अधिकारी सुदन ज्ञवालीले जानकारी दिनुभयो । उहाँले यो अभियान पहिलोपटक जेनेभाबाट शुरु भएको जनाउँदै विभिन्न क्षेत्रका व्यक्ति यसरी बिहानी हिँडाइ गर्दा फरक फरक क्षेत्रका अनुभव आदानप्रदान हुने र त्यस्ता अनुभवले नीति तथा योजना निर्माणमा सहयोगी बन्ने बताउनुभयो ।