Connect with us
Kapilvast Forest

आफ्नो मृत्यु दर्ता खारेज गरी पाँच वर्ष पछि नागरिकता प्राप्त

२०७८, २९ श्रावण शुक्रबारमा प्रकाशित

विराटनगर – जिउँदो हुँदाहुँदै मृत्यु भयो भनेर काजकिरिया गरिएका एक व्यक्तिले मृत्यु दर्ता खारेज गरी पाँच वर्षपछि नागरिकता पाउनुभएको छ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका ४० वर्षीय सुभाष तामाङले बिहीबार नेपाली नागरिकताको प्रतिलिपी प्राप्त गर्नु भएको हो ।

२०७२ साल असारमा साउदी अरबमा दुर्घटनामा परेका उहाँको मृत्यु भयो भन्दै शव आएपछि आफन्तले अन्त्येष्टि गरी २०७२ साउन ६ गते मृत्यु दर्ता भएको थियो । तर दुर्घटनाको एक वर्षपछि उहाँ जीवितै घर फर्किनुभयो ।

 

तामाङको बिहीबार मृत्यु दर्ता खारेज गरी मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकताको प्रतिलिपी प्रदान गर्नु भएको हो । ‘राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण ऐन २०७६ को दफा २४ अनुसार मृत्यु दर्ता खारेज गरी नागरिकताको प्रतिलिपी दिइएको छ,’ प्रजिअ निरौलाले भन्नुभयो ।

 

वैदेशिक रोजगारीका क्रममा साउदीमा रहेका सुभाष २०७२ साल असार २५ गते दुर्घटनामा पर्नु भएको थियो । दुर्घटनाको २८ दिनमा सुभाषको भनेर शव नेपाल आयो । परिवारद्वारा धार्मिक संस्कार अनुसार अन्तिम संस्कार भयो।

तर पछि उक्त शव सुभाषको नभएर बागलुङको ढोरपाटन–६ का तेजेन्द्र भण्डारीको रहेको पुष्टि भयो । उहाँकार्यरत कम्पनीको लापरबाहीका तेजेन्द्रको शवलाई सुभाषको भनेर नेपाल पठाइएको थियो । दुर्घटनाबाट गम्भीर घाइते भएका सुभाष उपचारपछि २०७३ सालमा नेपाल फर्किनुु भएको थियो ।

उहाँले आफ्नै मृत्यु दर्ता खारेजीका लागि प्रक्रिया थाल्नुभएको थियो । ‘पाँच वर्षसम्म सरकारी निकायमा धाएर बिहीबार बल्ल नागरिकता पाएँ,’ सुभाषले भन्नुभयो ।

 

भोजपुरको (साविक कुदाककाउले गाविस–९)हालको षडानन्द नगरपालिका–२ का उहाँ भोजपुरबाटै २०६० जेठ २९ गते ४८४१–११–२५५४ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेर वैदेशिक रोजगारीका लागि साउदी जानुभएको थियो । सुभाषको मृत्यु दर्ता भोजपुरमै गरिएको थियो ।

भोजपुरबाट जारी भएको नागरिकता नम्बर नै कायम रहने गरी मोरङबाट प्रतिलिपी उपलब्ध गराइएको प्रजिअ निरौलाले जानकारी दिनुु भयो ।मृत्यु दर्ता हुँदा लामो समयदेखि अनावश्यक दुःख पाउनु परेका कारण सरकारले आफूलाई क्षतिपूर्ति दिनुपर्ने उहाँको माग छ ।

आफू जीवित रहेको सरकारी प्रमाणसहित नेपाली नागरिकता प्राप्त गरेका उनले पुनः विदेश जाने सोच बनाएको बताउनुभयो । बेलबारी बस्दै आउनुभएका उहाँले केही समय सिटी सफारी सञ्चालन गर्दै आउनुभएको छ । उहाँका दुई छोराछोरी र श्रीमती हुनुन्छ ।