Connect with us
Kapilvast Forest

थारु समुदायले आज गुरही पर्व मनाउँदै

२०७८, २९ श्रावण शुक्रबारमा प्रकाशित

धनगढी-पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायले आज गुरही पर्व मनाउँदैछन् । गुरही यो समुदायको पहिलो पर्व हो । खास गरेर, बालबालिका र युवतीले गाउँ–गाउँमा गुरही पर्व मनाउने गर्दछन् । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर धनगढीमा पनि आज साँझ सामूहिक रुपमा गुहरी पर्व मनाइने सखी सञ्जाल कैलालीका अध्यक्ष आशा चौधरीले बताउनुभयो । सञ्जालको आयोजनामा विगत केही वर्षदेखि धनगढीको क्याम्पस चौकमा यो पर्व मनाउने गरिएको छ ।

गाउँघरमा कुनै दैवीय विपत्ति नआओस र रोगव्याधीको समस्या हटोस भन्ने मान्यताका साथ गुरही पर्व मनाइन्छ । यसलाई बाल पर्वको रुपमा पनि लिइएको छ । यसमा महिला, युवती र बालिकाले चौरमा कपडाको ‘गुरही’ बनाएर फाल्ने र त्यसलाई केटाले पिट्ने गर्दछन् यसरी गुरही फाल्ने र पिट्ने कार्यले विपद् टाढिने गरेको जनविश्वास रहेको छ ।

गुरहीको अवसरमा मकै, केराउ, चनाको भूजा खाने र बाँड्ने चलन रहेको छ । यसैगरी, घरमा मिठो मिष्ठान बनाएर आफ्नो विवाहित छोरीलाई माइतमा बोलाइ खुवाउने चलन पनि रहेको छ ।