अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने सरकारको निर्णय
काठमाडौं – सरकारले अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने निर्णय गरेको छ ।बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल रूपमा छिटो उद्धार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने निर्णय भएको उहाँले बताउनुभयो । यस्तै, बेलायतमा आमरण अनशनमा रहेका भूपू ब्रिटिस गोर्खा सैनिकहरूको माग सम्बोधन गर्न कूटनीतिक माध्यमबाट पहल गर्न सरकार प्रतिबद्ध रहेको र प्रक्रिया अगाडि बढिसकेको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो ।आमरण अनशनमा बसेकालाई सरकारले अनशन फिर्ता लिन आह्वान समेत गरेको छ ।