Connect with us
Kapilvast Forest

३८ जिल्लामा निर्वाचन अधिकृत खटाइयो

२०७८, १२ भाद्र शनिबारमा प्रकाशित

 

काठमाडौँ- नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । यही भदौ १८ गते गाउँपालिका तथा नगरपालिकाको वडास्तरको अधिवेशन सुरु गर्न पार्टीले क्रियाशील सदस्यताको छिनोफानो भएका जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको हो ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक कानुनविद् महादेव यादवले जिल्ला निर्वाचन अधिकृतहरू खटिएको जिल्लामा जाने क्रम सुरु भएको जानकारी दिनुभयो । पहिलो चरणमा हिमाली र पहाडी जिल्लामा निर्वाचन अधिकृत खटाइएको छ । हिमाली र दुर्गम जिल्लामा पुग्न केही दिन लाग्ने भएकाले पहिलो चरणमा निर्वाचन अधिकृत खटाइएको उहाँले बताउनुभयो । निर्वाचन अधिकृतलाई क्रियाशील सदस्यताको नामावली, निर्वाचन निर्देशिका लगायतका निर्वाचनसँग सम्बद्ध सामग्री पठाइएको छ । काठमाडौँ आसपासका जिल्ला र सुगम जिल्लामा भने एक दुई दिनमा प्रतिनिधि खटाइने भएको छ ।
क्रियाशील सदस्यताको छिनोफानो भएपछि बाँकी जिल्लामा पनि प्रतिनिधि खटाइने जानकारी काँग्रेसले दिएको छ । पार्टीले क्रियाशील सदस्यतालाई अन्तिम रूप दिन समय लागे पनि छिनोफानो भएका जिल्लामा भने निर्वाचन प्रक्रिया सुरु गर्न निर्वाचन अधिकृत खटाइएको हो ।

सबै जिल्लामा भदौ १८ गते एकै चरणमा वडास्तरको अधिवेशन गरिने भए पनि प्रतिनिधि भने विभिन्न चरणमा खटाउनुपर्ने अवस्था रहेको जनाइएको छ । अब निर्धारित मितिमै पार्टीको महाधिवेशन गर्ने नै आफूहरूको उद्देश्य रहेको
निर्वाचन समितिका संयोजक यादवले बताउनुभयो ।

यसैबीच, पार्टीको निर्वाचन समितिले विभिन्न ४८ जिल्लाका क्रियाशील सदस्यताको विवरण बेवसाइटमा सार्वजनिक गरिएको जनाएको छ । निर्वाचन समितिका संयोजक यादवले हालसम्म क्रियाशीलको टुङ्गो लागेका ४८ जिल्लाका कायम रहेका सदस्यहरूको नामावली सार्वजनिक गरिएको जानकारी दिनुभयो । अब २९ जिल्लामा क्रियाशील सदस्यताको टुङ्गो लाग्न बाँकी छ । पार्टीले निर्वाचन समितिलाई सदस्यताको सूची उपलब्ध गराए पनि थप जिल्लाको समेत सार्वजनिक गरिने जनाइएको छ ।
अर्कोतर्फ क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्न माग गर्दै संस्थापन इतर पक्षका जिल्ला सभापतिहरूले विगत तीन दिनदेखि पार्टी कार्यालयमा सुरु गरेको रिले अनसन शुक्रबार पनि जारी रहेको नेपाली काँग्रेसका नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu