सभापतिको उम्मेदवार छान्न बोहोराटारमा पौडेल समूहको बैठक बस्दै
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिको उम्मेदवार चयन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ ।मंगलबार दिउँसो पौडेल निवास बोहोटारमा बैठक बस्ने केन्द्रीय सदस्य बलबहादुर केसीले अनलाइनखबरलाई बताउनुभयो । उहाँका अनुसार संस्थापनइतर समूहबाट सहमतिमा एक जनामात्रै सभापतिको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।
पौडेल समूहमा सभापतिका लागि चार नेता आकांक्षी हुनुन्छ । पौडेलसहित महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा। शेखर कोइरालाले सभापति पदमा दावी गर्नु भयो ।
नेताहरुबीच सहमतिमा उम्मेदवार चयन गर्न निरन्तर छलफल भइरहेपनि सहमति भने जुट्न सकेको छैन । महाधिवेशन कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन शुरु हुनुअघि साझा उम्मेदवार तय गर्ने, नभए कम्तीमा एउटा मात्रै उम्मेदवार बन्छौं भनेर सामूहिक प्रतिवद्धता जनाउने तयारी पौडेल समूहको छ ।