१० बुँदे जस्ताको तस्तै कार्यान्वयन हुँदैन : महासचिव पोखरेल
विराटनगर – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि भएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने बताउनु भएको छ ।अदालतले नेकपा एमालेलाई कानुनी रुपमा २०७५ जेठ २ मा फर्काए पनि जेठ २ को अवस्था यान्त्रिक ढङ्गले नहुने बताउनु भएको हो । नेकपा एमाले मोरङले आइतबार मोरङको विराटचोकमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जेठ २ को कार्यान्वयन सिर्जनात्मक रुपमा हुने बताउनु भएको हो ।
१० बुदे कार्यदलले दिएको सुझाव हो पार्टीको निर्णय होइन,’ उहाँले भन्नु भयो ।कार्यान्वयन गरिरहँदा यो यान्त्रिक ढङ्गले हुँदैन्, हुनसक्दैन, सिर्जनात्मक ढुङ्गले हुन्छ ।’उहाँले १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन्छ भन्ने भ्रममा नपर्न पनि आग्रह गर्नु भयो । पार्टीलाई जेठ २ को अवस्थामा फर्काए नयाँ पार्टीबाट आएकाहरुलाई अन्याय हुने बताउनु भयो ।
‘२०७७ साल फागुन २३ गते सर्वोच्चको फैसलाले कानुनी रुपमा जेठ २ मा पुग्यौं,’ उहाँले भन्नु भयो ,‘‘यसलाई यान्त्रिक ढङ्गले बुझ्न हुदैन, २०७५ साल जेठ २ फेरि त्यही अवस्थामा जस्ताको तस्तै आउन सक्दैन, कोही कमरेड भ्रममा नपरे हुन्छ ।’महासचिव पोखरेलले हिजोका दिनमा पार्टीको जिम्मेवारी लिएका र पार्टीमै रहेकाहरुलाई समेटेर जिम्मेवारी दिइने बताउनु भयो ।